सूचना प्रविधि

पानी शुद्धीकरणका लागि आधुनिक प्रविधि जडान

फलेवास । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर पर्वतका केही शैक्षिक संस्थामा पानी शुद्धीकरणका लागि आधुनिक प्रविधि जडान गरिएको छ ।

सदरमुकाम कुश्मा बजारस्थित आर्दश अंग्रेजी आवासीय माध्यमिक विद्यालय र फलेवास नगरपालिका–५ खानीगाउँस्थित भवानी विद्यापीठ उच्च माविमा अमेरिकन प्रविधिमा आधारित ‘पानी शुद्धीकरण प्रणाली’ जडान गरिएको हो ।

स्पलास नेपालको प्राविधिक सहयोगमा उक्त प्रविधि जडान गरेको हो । विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै यो प्रविधि पहिलोपटक जिल्लामा भित्र्याइएको हो ।

आर्दश अंग्रेजी आवासीय माध्यमिक विद्यालय पर्वतका प्रधानाध्यापक हिमबहादुर पौडेल क्षेत्रीका अनुसार काठमाण्डौ उपत्यकाका २५० सामुदायिक विद्यालयले यो प्रविधि जडान गरिएको छ ।

प्रधानाध्यापक पौडेलले भने “यो प्रविधि अल्ट्रा फिल्टरेशन सिष्टम (युएफ) हो, यो प्रविधिमा चार चरणमा पानी फिल्टर हुन्छ, जसले प्रतिमिनेट २० देखि २५ लिटर पानी फिल्टर गर्दछ, त्यो पानी विद्यार्थीका लागि पर्याप्त र पिउनका लागि योग्य हुन्छ ।”

यो प्रविधिले शुन्य दशमलव शुन्य दुई माइक्रोन आकारका माइक्रो अर्गानिज्म फिल्टर गर्ने बताइएको छ । उक्त प्रविधिले पाँचदेखि सात वर्षसम्म राम्रोसँग कार्य गर्न सक्नुका साथै आपूर्ति हुने पानीको अवस्थामा पनि निर्भर हुने बताइएको छ ।

यस प्रविधिको जडानसंगै आर्दश र भवानी विद्यापीठ उच्च माविमा अध्ययनरत विद्यार्थीले घरबाट पानी बोकेर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । यो प्रविधि जडानका लागि झण्डै रु आठ लाख खर्च लाग्ने बताइएको छ ।

फिल्टर भएको पानी विद्यालय परिसर वरिपरिका छिमेकी तथा विद्यार्थीका अभिभावकले समेत बिहान र बेलुका प्रयोग गर्नसक्ने सो विद्यालयले जनाएको छ ।

विद्यालयले विद्यार्थीलाई प्राविधिक ज्ञानको दक्षता र क्षमता वृद्धि गर्न नयाँ प्रविधि तथा पेडागोजी एवं मेथेडोलोजी भित्र्याउने क्रममा टकिड टिचर डिभाइसबाट समेत कक्षा सञ्चालनको तयारी गरेको छ ।

अहिले स्र्माट क्लास सञ्चालन गर्नुका साथै थप व्यवस्थित गराउनका लागि स्मार्ट (डिजिटल हल) निर्माण कार्य गरिरहेको प्रधानाध्यापक पौडेलले बताए ।