मनोरञ्जन

मैथिली चलचित्रको मुनाफा सामाजिक अभियानमा खर्च गरिने

जनकपुरधाम । बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली चलचित्र राज्जारानीको मुनाफा सामाजिक अभियानमा खर्च गरिने घोषणा गरिएको छ ।

चलचित्र निर्माण गर्ने पक्षद्वारा उक्त घोषणा गरिएको हो । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिद्वारा सो चलचित्र निर्माण गरिएको छ । चलचित्रमा बलविवाह र दाइजोमा कुरा नमिल्दा उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ ।

मैथिली र नेपाली भाषामा निर्माण गरिएको सो चलचित्र पुस २१ गतेदेखि सुखद व्यापारका साथ देशभर चलिरहेको बताइएको छ । मैथिली भाषाको राज्जारानी चलचित्र पर्सादखि मोरङ जिल्लाको २० भन्दा अधिक चलचित्र घरमा प्रदर्शन भइरहेको जनाइएको छ ।

सो चलचित्रलाई छिट्टै भारतको विहार, झारखण्ड र उत्तर प्रदेशमा पनि लगिने चलचित्र निर्माता राजकुमार महतोले बताए । यसैगरी सो चलचित्रलाई मलेसिया, दुबई, अमेरिका, बेलायत, जर्मनी, स्विटजरलेण्ड, अष्ट्रेलिया र नर्वेलगायतका राष्ट्रमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ ।

निर्माता महतोले मैथिली चलचित्र राज्जारानीको मुनाफा बाल विवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियान, मोरङदेखि पर्सा जिल्लासम्मका अति विपन्न परिवारका बालिकाको शिक्षामा र वीरगञ्जदेखि विराटनगरसम्मका कोरिडोरलाई मिथिला पर्यटन प्याकेज तयार, प्रवद्र्धन र सृदृढीकरणमा खर्च गर्ने जानकारी दिए ।