राजनीति

प्रदेश प्रमुख तोक्ने निर्णय अन्यौलमा, प्रधानमन्त्री देउवाले चाले यस्तो कदम

काठमाण्डौ । सरकारले आज(सोमबार) प्रदेश प्रमुख नतोक्ने संम्भावना बढेर गएको छ । सोमबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अनिश्चित बनेपछि प्रदेशप्रमुख तोक्ने विषयमा अन्यौलमा परेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग दलफल गर्ने र सहमतिका आधारमा प्रदेश प्रमुख तोक्ने स्रोतको दाबी छ । उनले माअ‍ोवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपासँग छलफल गरेर सहमतिमा पुग्ने विश्वास लिएका छन् ।

प्रधानमन्त्रीका प्रेशसंयोजक गोविन्द परिवारले मन्त्रिपरिषद् बैठक आज बस्ने नबस्ने टुंगो लागि नसकेको बताए ।

‘प्रधानमन्त्रीज्यू अझै सहमतिको खोजीमा हुनुहुन्छ, आज राजनीतिक दलहरुसँग छलफल गर्ने योजनामा हुनुहुन्छ मन्त्रिपरिषद् बैठक बस्ने समय निर्धारण भएको छैन ।’, उनले भने,‘त्यसैले आज बैठक बस्न पनि सक्छ नबस्न पनि सक्छ ।’

देउवाले आजसम्म सहमतिको प्रयास गर्ने र त्यसपछि सहमति जुटेपनि, नजुटेपनि भोलि मन्त्रिपरिषद बैठक बोलाएर यस सम्बन्धी निर्णय लिने स्रोतले बतायो । देउवा माओवादी केन्द्र र राजपा–फोरमबाट सहमति जुट्ने आशामा छन् ।

एक पक्षीय रुपमा चयन गर्दा दुई कारणले जोखिम हुने भय प्रधानमन्त्री देउवालाई छ । एक, नयाँ सरकार बन्ने बित्तिकै हटाइने सम्भावना । दुई, छोटै समयमा हट्ने भएपछि सम्भावित व्यक्तित्वहरुले यो जिम्मेवारी स्वीकार नगर्ने सम्भावना । त्यसैले उनी परामर्स गरेर अगाडि बढ्ने दाउमा छन् ।