पु.समाचार

प्रदेश नम्बर ७ को राजधानी डोटी, आन्दोलनकारीले बनाए यस्तो नक्सा !

डोटी । प्रदेश नम्बर सातको राजधानी तोकिएको छ । आन्दोलनकारीहरुले क्षेत्रिय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नम्बर ७ को नक्सा बनाउँदै डोटीलाई राजधानी तोकेका हुन् ।

आइतबार प्रदर्शनकारीहरुले स्थानीय पञ्चेश्वर मन्दीरबाट मैन बत्ती जुलुस निकाल्दै क्षेत्रीय प्रशासन कार्यलय अगाडि पुगेर सडकमा नक्सा बनाएर राजधानी तोकेका हुन् ।

लामो समयसम्म आन्दोलन गर्दा पनि सरकारले नदेखेझै गरेकाले दिउँसै मैनबत्ती जुलुस निकाल्नु परेको आन्दोलनकारीहरुको भनाइ छ । प्रदेशको नक्सा बनाई भौगोलिक दुरीका आधारमा सबै जिल्लालाई पायक पर्ने डोटी नै हो भन्ने देखाउनका लागि नक्सामाथी पनि मैनबत्ती बालेका आन्दोलनकारीले बताए ।

सरकारले आफ्नो माग नसुनेको भन्दै शुक्रबार थाल ठटाउँदै र शनिबार सिठी बजाउँदै प्रदर्शन गरेका आन्दोलनकारीहरुले आफ्नो माग पूरा नभएसम्म सडकमै रहने उद्घोष गरेका छन् ।