पु.समाचार

जग्गा खरिद प्रकरणः अख्तियारले लियो निगमका अधिकारीसँग बयान

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खरिद अनियमितता प्रकरणमा नेपाल आयल निगमका अधिकारीमाथि वयान सुरु गरेको छ ।

जग्गा खरिद अनियमितता प्रकरणमा संलग्न भएको आशंकामा अख्तियारले आइतबारदेखि निगमका अधिकारीमाथि वयान थालेको हो । अख्तियारले वयानका लागि आइतबार निगमका प्रबन्धक पुष्कर कार्कीसँग वयान लिएको छ । उनी आठौं तहका कर्मचारी हुन् ।

कार्कीसँगै अख्तियारले निगमका अन्य उच्च अधिकारीको पनि वयान लिनेछ । अख्तियारले निगम अधिकारी र सञ्चालक समितिका सदस्य गरी करिब ३५ जनालाई वयानको सूचीमा राखेको छ ।

यसअघि निगमले जग्गा खरिद प्रकरणमा संलग्न देखिएका ४० जनाभन्दा बढीसँग वयान लिइसकेको छ भने दुई सयभन्दा बढीसँग कागज गराएको छ ।

इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा भएको अनियमितताको वस्तुस्थिति बुझ्न दुईपटक अख्तियारले जग्गा खरिद गरिएका स्थानको अवलोकनरअनुगमन गरेर फर्किएको थियो ।

जग्गा खरिद गरिएका झापा, सर्लाही, भैरहवा र चितवनमा पुगेर अख्तियारले जग्गाधनीसँग कागज गर्नुका साथै खरिद, विक्रीमा संलग्न स्थानीय तहका अधिकारी, एजेन्ट लगायतका पक्षको वयान पनि सिध्याएको छ ।

जग्गा खरिदमा कतिपय स्थानमा आयल निगमले सिधै जग्गा खरिद गरेको देखिएको छ । त्यस्तै, कतिपय स्थानमा बिचौलियामार्फत् र कतिपय स्थानमा जग्गाधनी, बिचौलिया र ठेकेदारमार्फत निगमले जग्गा खरिद गरिएको देखिएको छ ।

इन्धन भण्डारणका लागि गत वर्ष जग्गा खरिद गर्दा चल्तीको मूल्यभन्दा चार गुणा बढी रकम तिरिएको ठहर तत्कालीन उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले गरेको अध्ययन प्रतिवेदनले गरेको थियो ।