राजनीति

प्रदेश प्रमुखको नियुक्ती भोली, प्रदेश राजधानीको विषयमा के भन्छ सरकार ?

काठमाण्डौ । सरकारले आगामी सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सात वटै प्रदेशका प्रमुख तोक्ने भएको छ । कानुनमन्त्री यज्ञबहादुर थापाले भोली बस्ने मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशका प्रदेशप्रमुख तोक्ने बताएका छन् ।

प्रदेशको राजधानीको विषयलाई लिएर देशव्यापी आन्दोलन चर्कीरहेका बेला सरकारले प्रदेश प्रमुख तोक्ने बताएको छ । माघ २४ गते राष्ट्रियसभाको निर्वाचन मिति तोकिसकिएकाले प्रदेश प्रमुख तोक्नैपर्ने बाध्यता सरकारलाई छ । कानुनमन्त्री थापाले प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ खुवाउने सरकारी योजना रहेको बताए ।

प्रदेशको अस्थायी राजधानी ताक्ने विषयमा सरकार अलमलमा परेको छ । वाम गठबन्धनको असहमति र प्रादेशिक राजधानीको माग गर्दै देशव्यापी आन्दोलन चर्कीरहेका बेला अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकार छलफलकै क्रममा रहेको उनले बताए । प्रदेश राजधानीको विषयमा छलफल र सहमति गरेर अगाडि बढ्ने सरकारको तयारी छ ।

उनले भनेका छन्, ‘सहमति नभएको अवस्थामा सरकारले प्रदेशको राजधानी बनाउने र नागरिकले भत्काउने भन्ने हुँदैन । सोमबारसम्म सहमति जुटाउने कोसिस गछौं । सहमति नभए तोक्दैनौं ।’

यता वाम गठबन्धनले भने प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले तत्काल राजीनामा दिएर सरकार निर्माणको बाटो फुकाउनु पर्ने बताउँदै आएको छ ।

नेकपा एमालेका नेता एवं नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनपछि पनि देउवा सरकारले राजीनामा नदिए धकेलेर निकालिदिने बताइसकेका छन् । उनले भनेका छन्, ‘ हामी निर्वाचनसम्म धैर्य गर्छौं, यदि त्यसपछि पनि उहाँहरु सरकारमै टाँसिरहन चाहानुभयो भने हामी धकेलेर निकालिदिन्छौं ।’