पु.समाचार

काठमाण्डौमा ८ वर्षपछिकै कम तापक्रम

काठमाण्डौ । लगातार चिसो बढेको काठमायडौको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाण्डौको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाण्डौको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाण्डौको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो ।

तापक्रम घटेसँगै काठमाण्डौमा निकै चिसो महसुस भएको छ । यसअघि पुस २० गते यहाँको तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको थियो ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, आकाशमा बादल नहुँदा र घाम नलाग्दा काठमाण्डौको चिसो सन् २०१० पछिकै धेरै भएको हो ।

उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाण्डौको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने प्रक्षेपण पौडेलको छ ।

महाशाखाका अनुसार, काठमाण्डौमा सन् १९७८ मा अहिलेसम्मकै कम माइनस ३.५ डिग्री तापक्रम मापन भएको थियो । काठमाण्डौको तापक्रम सन् १९७८ पछि सन् २००० मा माइनस ३ मापन भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, सबैभन्दा चिसो जुम्लामा छ । आइतबार बिहान ८ः४५ बजे यहाँको तापक्रम माइनस ८ दशमलब ७ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौपछि सबैभन्दा कम तापक्रम दाङ, दीपायल र वीरेन्द्रनगरमा छ ।