स्वास्थ्य

भोकमरीको चपेटामा चेपाङगाउँ, गर्भवतीलाइ समेत सिस्नुको खोले !

सीताराम अधिकारी
मलेखु, धादिङ । घरमा खाने अन्न सकिएपछि दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसबाङवासी सिस्नु र टाँकीको मुन्टा खान थालेका छन् ।

चिसो बढेसँगै गाउँमा मानिस बिरामी परेको भए पनि खानेकुराको अभावमा कन्दमूल खोज्न जानुपर्ने र आफ्नै बारीमा भएको सिस्नु टिपेर पकाउनुपर्ने भएकाले गाउँवासी खान नपाएर भोकभोकै परेको गाउँ पुगेको सरकारी टोलीले समेत निरीक्षण गरेको छ ।

सुक्रिमाया चेपाङ २२ वर्षकी भईन् । तीन सन्तान काखमा छन् । एउटा सानो बच्चा १७ महिनाको भयो । अर्को बच्चा पाउने बेला भएको छ । सानो नानी बोकेर घाँस दाउरा गर्नु, कन्दमूल खोज्नु र सिस्नु टिपेर गुजारा गर्नु उनको नियमित दिनचर्या भएको छ । आठ महिनाको गभर्वती पोषिलो खानेकुरा खानुपर्छ आइरन चक्की नियमित खानुपर्छ । भारी बोक्नु हुन्न । धेरै हिँड्नु हुन्न । गर्भावस्थामा चार पटक स्वास्थ्य चौकी गएर स्वास्थ्य जाँच गराउनु पर्छ । आम नेपालीलाई स्वास्थ्यकर्मीले भन्दै आएका छन् तर ब्रुसबाङका महिलालाई यो कुरा एकादेशको कथा जस्तै छ ।

सिस्नुको खोले नभए त मरिन्छ नि । गाउँमै खानेकुरा छैन । तर गाउँभरिमा यस्ता तीन जना महिला गभर्वती छन् । सुक्रिमायाले बताउँदा गम्भीर देखिए । घरमा दुई डोको जति मकै छ । खोरियामा मकै पाक्न १० महिना लाग्छ । गाउँमा स्वास्थ्य चौकी नभएकाले गाउँबाट कोही पनि गभर्वती भए पछि जाँच गराउन जाँदैनन् । स्वास्थ्य चौकी गइहाले पनि औषधि किनेर खानुपर्ने भन्ने सुनेकाले स्वास्थ्य चौकी नगएको उनीहरुको भनाइ छ ।

सुक्रिमाया मात्र होइन ब्रुसबाङका सबैको घरमा खानेकुरा छैन । खोले खानु पर्छ सिस्नुको । शहरमा बस्नेका लागि त एक दिन सिस्नु खाँदा रमाइलो लाग्छ तर सधैं खोले खाएर तागत नै नआउने र बिरामी भएको जस्तो हुने गरेको प्रेममाया चेपाङले गुनासो गरे ।

धादिङ र चितवनको सीमा क्षेत्रमा रहेको ब्रुसबाङ महाभारत श्रृंखलाको एउटा चुचुरो डाँडामा रहेकाले यो गाउँ सबै किसिमको सुविधा र अवसरबाट वञ्चित रहेको यहाँका वृद्ध ७८ वर्षीय टेकबहादुर चेपाङको भनाइ छ ।

खानेपानीको समस्याले गाउँवासीले नुहाउन नपाएको त कति भएको छ कसैलाई जानकारी छैन । पानी खानका लागि समेत दुई घण्टा टाढा चितवनतर्फ पुगेर एक भाडो पानी ल्याउँदा दिन सकिन्छ । कुवाको पानी ल्याएर एक भाडोले तीन÷चार दिनसम्मलाई पु¥याउनुपर्ने बाध्यता रहेकाले बस्ती पानी खान नपाएर भौतारिएको (काकाकूल जस्तो) भएको छ ।

दुई दिनअघि गाउँ पुगेको सरकारी टोलीमा जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी श्याम भण्डारी, प्रहरी नायब उपरीक्षक रामबहादुर केसीलगायतले गाउँवासीको समस्या दर्दनाक र पीडादायक भएको जिल्ला सदरमुकाम फर्केपछि बताए ।

सरकारले धादिङमा जिल्ला विकास समितिमार्फत २०३६ सालदेखि चेपाङ विकास कार्यक्रम सञ्चालन गरेको थियो तर ब्रुसबाङमा यो कार्यक्रमको कुनै प्रभाव नपरेको गाउँ पुगेको सरकारी टोलीका नेता जगन्नाथ नेपालको भनाइ छ । सरकारले सञ्चालन गरेको गरिबी निवारण कार्यक्रमको पनि कुनै प्रभाव देखिएको छैन । विभिन्न संघसंस्थाले गरेको भनेको कार्यक्रम त गाउँसम्म नै नपुगी फकिने गरेको गाउँवासीको गुनासो छ ।

डाँडाको चुचुरोमा गाउँ रहेको र जताबाट गए पनि लामो उकालो हिँडेर जानुपर्ने भएपछि इतिहासमै पहिलो पटक सरकारी टोली गाउँमा पुगेको र गाउँवासीको समस्या समाधानका लागि पहल शुरु भएको खाद्य अधिकारका लागि कार्यरत फियान नेपालका राजेन्द्र बस्नेतको भनाइ छ ।

गाउँमा पुगेको सरकारी टोलीसमक्ष गाउँवासीले खानेपानी, शिक्षा, खाद्य अधिकार, स्वास्थ्यलगायतको विषय उठाएका थिए । एकएक गरेर चेपाङ महिलाले आफ्नो कुरासमेत राखेका थिए ।

दश महिनामा खोरियाको मकै पाक्छ । यो मकैले गाउँमा सबैको तीन महिनाभन्दा बढीलाई खान पुग्दैन । विद्यालय छैन त्यसैले प्राथमिक तह उत्तीर्ण गरेका मानिस गाउँमा कोही छैन । समस्या नै समस्या भएकाले गाउँवासीका लागि काम गरिदिनका लागि सूर्यमाया चेपाङले कुरा राखेपछि सरकारी टोली नै गम्भीर भएको थियो ।

ब्रुसबाङ गाउँलाई स्थानान्तरण गर्न आह्वान भएपछि गाउँभन्दा तल्लो भागमा आफूहरुलाई सारेर राख्न र विद्यालय, स्वास्थ्यचौकी, बिजुली, पानीसमेत हुने गरी मिलाउन पूर्व वडाध्यक्षसमेत रहनुभएका टेकबहादुर चेपाङले गाउँवासीको तर्फबाट आग्रह गरे । गाउँ पाखो जग्गा चेपाङकै हुने गरी साविकको महादेवस्थान गाविसको ताल्ती क्षेत्रमा बस्ने गाउँवासीको सामूहिक माग गरेपछि बस्ती सार्न पहल शुरु भएको र आफूले ब्रुसबाङका चेपाङको पक्षमा काम गर्ने जिल्ला समन्वय समितिका संयोजक नेपालले बताए । बस्ती सार्न आफूहरु तयार रहेको गाउँवासीले सहमति जनाएका छन् ।

गाउँ स्थानान्तरण गरेपछि विभिन्न निकायको सहकार्यमा घर निर्माण गरी हस्तान्तरण गर्ने, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतको आधारभूत आवश्यकता पूरा गर्ने, सीप सिकाइ उनीहरुलाई आत्मनिर्भर बनाउन लागि पर्ने जिससका संयोजक नेपालको भनाइ छ । रासस