आर्थिक

सहकारीमैत्री कानून निर्माण गर्नुपर्ने माग

काठमाडौँ । सहकारीको प्रवद्र्धन र सुदृढीकरणका लागि सहकारी संघसंस्थासँग समन्वयकारी भूमिका निर्वाह गरी सहकारीमैत्री कानून निर्माण गर्नुपर्ने माग गरिएको छ ।

दुई दिनसम्म सञ्चालन भएको सहकारी संघसंस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठीले ‘काठमाडौँ घोषणापत्र–२०७४’ सार्वजनिक गर्दै स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष सहकारीमैत्री कानून निर्माण गर्न आह्वान गरेको हो ।

‘सन् २०३० सम्मको दिगो विकासका सबै लक्ष्य प्राप्तिका लागि नेपालको सहकारी अभियानको योगदानलाई वृद्धि गर्न रणनीतिक योजनाका साथ स्थानीय तथा नवीन प्रविधिहरुको प्रयोग/विस्तार, उद्यमशीलता तथा क्षमता विकास र सामाजिक सुरक्षा योजनामार्फत उत्पादन वृद्धि तथा सेवाको विविधीकरण गर्दै स्वरोजगार सिर्जना गरी गरिब न्यूनीकरण गर्न प्रतिबद्ध छौँ”, घोषणापत्रमा भनिएको छ ।

कृषि बजार ऐनको माग

यसैबीच नेपाल फलफूल थोक व्यवसायी संघको २६औँ साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा सरोकारवालाहरूले कृषि बजार ऐनको माग गरेका छन् ।

फलफूल उत्पादनका लागि नेपालको भूभाग उपयुक्त भए पनि उपयुक्त नभएको भन्दै कृषकले ऐनको माग गरेका हुन् ।

संघका अध्यक्ष अमर बानियाँले नेपालमा विशेष प्रकारको हावापानी तथा भू–बनोट भए तापनि फलफूल उत्पादन कम भएका कारण अन्य देशबाट आयात गर्नुपरेको गुनासो गरे ।

अध्यक्ष बानियाँका अनुसार नेपालमा केरा ३० प्रतिशत, स्याउ १० प्रतिशत, सुन्तला ५० प्रतिशत, आँप ६० प्रतिशत र मेवा १० प्रतिशतमात्र उत्पादन हुन्छ । माग पूरा गर्न भारत, चीन तथा अन्य तेस्रो मुलुकबाट फलफूल आयात गरिँदै आएको छ ।

सोही अवसरमा नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेले विषादीयुक्त फलफूल बिक्री वितरण गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।