पर्यटन/संस्कृति

खानेपानीको अभावले होटल व्यवसाय संकटमा

बैतडी । खानेपानीको अभावमा बैतडीमा होटल व्यवसाय संकटमा परेको छ । महाकाली राजमार्ग र दशरथचन्द राजमार्गको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित रहेको सतबाँझ बजारका होटल व्यवसायीले पानीको अभाव झेलीरहेका छन् ।

विसं २०६७ मा निर्माण सम्पन्न भएको खानेपानी आयोजना एक वर्ष नबित्दै बिग्रिएपछि पानीको हाहाकार भएको हो । योजना बनेको वर्ष दिनमै बिग्रिएपछि सतबाँभmमा रहेका एक दर्जन बढी होटल र दुई दर्जन बढी घरपरिवार समस्यामा परेका छन् ।

बैतडी दार्चुलाको मुख्य केन्द्र रहेको सुर्नया गाउँपालिका–२ मा रहेको सतबाँझ बजारमा दिनहुँ दजनौँ सवारीसाधन र सयौँ यात्रु आवतजावत गर्ने भए पनि खानेपानीको अभावका कारण सास्ती खेप्दै आएका छन् । खानेपानीको अभाव हुँदा सतबाँझका होटल व्यवसायी पलायन हुन थालेका छन् । गाडीमा अन्यत्रबाट पानी ल्याएर व्यवसाय गर्नुपरेको होटल सञ्चालकको भनाइ रहेको छ । १० वर्षदेखि होटल सञ्चालन गरेको बताउँदै पानीकै समस्याले विस्थापित हुने अवस्था आएको हिमानी होटल एण्ड लजका सञ्चालक भानसिंह बोहराको भनाइ रहेको छ । पानी अभावमा यात्रु पनि उत्तिकै सास्ती खेप्दै आएका छन् उनले भने “पानी बोक्नकै लागि एक जना भरिया राखेका छौँ, पिउनसम्म पानी अभाव हुन थालेपछि होटलमा ग्राहक राख्न छाडिएको छ ।”

होटल व्यवसायीले चर्को मूल्य तिरेर गाडी तथा भरियाबाट पानी बोक्न बाध्य भएका छन् । सतबाँझ बजारमा हिउँदको महिनामा मात्रै नभएर बाह्रै महिना पानीको अभावमा रहेको पाइन्छ । गाडीबाट पानी ल्यायो भने सात किलोमिटर टाढा सितुनबाट ल्यानुपर्ने र भरियाले बोकायो भने दुई घण्टा टाढा चिल्लेपानीबाट ल्याउनुपर्ने बाध्यता रहेको पाण्डेय होटलका सञ्चालक दीपेन्द्र पाण्डेयले बताए ।

पानीकै अभावमा राजमार्गमा चल्ने गाडी पनि जिल्लाका अन्य बजारमा गएर रोक्ने गरेका छन् । एसियाली विकास बैंकको सहयोगमा सामुदायिक खानेपानीले सतबाँझमा विस २०६७ मा बैतडी जिल्लामै पहिलो पटक पम्प प्रणालीबाट खानेपानी सञ्चालनमा आएको थियो । लाखौँ रुपैयाँ खर्च गरेर २५ केभी क्षमताको मोटर लगाएर ८०० मिटर तल कटमोली खोलाबाट पम्पिङ गरेर ल्याएको उक्त आयोजना एक वर्ष नबित्दै बिग्रिदा समस्या भएको हो ।

उपभोक्ता समितिले आर्थिक स्रोत नहँुदा बिग्रिएको छ वर्ष बितिसक्दासमेत नसकिएको जनाएको छ । सुर्नया गाउँपालिकाको वडा नं २ मा रहेको सतबाँझ बजारमा पानी समस्या रहेको बताउँदै समाधानका लागि वडा तथा गाउँपालिकाबाट सक्दो सहयोग गरिने वडाध्यक्ष हर्कबहादुर पाण्डेयले बताए । सुर्नया गाउँपालिकाको सदरमुकामका रुपमा रहेको सतबाँझमा पानीको अभाव हुनु दुःखको कुरा हो उनले भने “बनाएका योजनाको संरक्षण र प्रवर्धन हुन नसक्दा यस्तो समस्या आएको हो”
जिल्लाको दोगडाकेदार, पाटन, मेलौलीलगायतका क्षेत्रमा पनि हिउँद शुरु भएसँगै खानेपानीको समस्या बढेको स्थानीय बासिन्दाले बताएका छन् । पुरानो मुहानमा पानी घट्दै जानु र जनसंख्या बढ्नु अभावको मुख्य कारण बनेको हो ।