राजनीति

ओली र दाहालबीच आजै हुँदैछ यस्ता विषयमा छलफल, माओवादीले नेताले गरे यस्तो खुलासा

गोरखा । नेकपा माओबादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आजै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता गर्ने सम्बन्धी प्रारम्भिक छलफल हुने र आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताएका छन् ।

उनले भने, ‘संभवत आज नै दुवै पार्टीका अध्यक्षज्यूहरुबीच पार्टी एकताबारे छलफल हुनेछ र भोलि पार्टी एकता संयोजन समितिमा थप छलफलहरु गछौं ।’ पार्टी एकताका लागि दुवै दलभित्र दुइवटा बुँदामाथि छलफल भइरहेको श्रेष्ठले बताए ।

अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकताकै विषयमा गृहकार्य गरिरहेको भन्दै श्रेष्ठले पार्टीको वैचारिक लाइन के हुने र नेतृत्व निर्माण, संगठानात्मक संरचनाको एकीकरणको आधार के हुनेरु भन्ने बुँदामा छलफलपछि पार्टी एकता प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् ।

कानून अड्चन र नेपाली कांग्रेसका कारण सरकार गठनमा ढिलाइ भएको बताउँदै श्रेष्ठले भने, ‘सरकार बनाउने प्रक्रिया अघि बढ्छ, कुनै कठिनाइ छैन । पार्टी एकता अघि बढाउन भने केही गृहकार्य गर्नु जरुरी छ ।’ अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण पार्टी एकता बैठक केही ढिला भएको श्रेष्ठ तर्क गर्छन् ।

संबैधानिक ब्यबस्था, राष्ट्रिय सभाको ऐन नभइ निर्वाचनमा गएको स्थिती र कांग्रेसजस्तो लोकतान्त्रिक पृष्ठभूमी भएको तर सत्तामा रहिरहन चाहने पार्टीको सरकार भएकोले सरकार निर्माण केही ढिलाइ भएको श्रेष्ठको भनाइ छ ।

नेतृत्वको बिषयमा बिबाद नरहेको भन्दै श्रेष्ठले कुन नेता कुन पदमा भन्ने बिषय अहिले मुख्य नभएको बताए । ‘वामपन्थी गठवन्धनको सरकारबाहेक पाँच वर्ष अरु कसैको सरकार बन्दैन’ श्रेष्ठले भने, ‘कांग्रेस, राजपा, फोरमसँग मिलेर सरकार बनाउने भन्ने होइन ।’

गोरखा २ बाट प्रतिनिधिसभा निर्वाचनमा डा। बाबुराम भट्टराईसंग पराजित श्रेष्ठ निर्वाचनमा पराजित हुनुका समीक्षा र मतदातालाई धन्यवाद दिन शुक्रबारदेखि गोरखामा छन् । एमाले र माओवादी निकट कर्मचारीले गोरखा सदरमुकामको पश्चिमकालीमा शनिबार दिउँसो आयोजना गरेको सम्मान, स्वागत, बधाइ ज्ञापन तथा वनभोज कार्यक्रममा कर्मचारीलाई आफ्नो जिम्मेवारीअनुसार काम गर्न श्रेष्ठले आग्रह गरे ।