कृषि

बंगुरपालनमा युवाको आकर्षण बढ्यो

रामपुर । पाल्पा जिल्लामा बंगुरपालन व्यवसायमा युवाको आकर्षण बढ्दो छ ।

बंगुरबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका युवाले हिजोआज व्यावसायिक तवरबाट बंगुर पाल्न थालेका हुन् । पहिलापहिला गाउँघरमा परम्परागत तवरले एक दुई वटा बंगुर पाल्दै आइरहेका कृषकले अहिले व्यवस्थित र आधुनिक प्रविधिबाट व्यवसाय सञ्चालनमा ल्याएका छन् ।

जिल्ला पशुसेवा कार्यालयले बंगुरपालन व्यवसायमा सहयोग गर्न थालेपछि युवाको यस व्यवसायमा आकर्षण बढेको हो । छोटो समयमा धेरै आम्दानी लिन पाइने भएपछि धेरै युवाले यो व्यवसाय रोजेका हुन् । जिल्लामा ५० जनाभन्दा बढी युवा बंगुरपालन व्यवसायमा आबद्ध छन् ।

बंगुरपालन व्यवसायबाट राम्रो कमाइ हुने आशा देखेर रामपुरका सूर्यबहादुर रामजालीले सरकारी जागिर छाडेर यो व्यवसाय सञ्चालन गरेको हो । नेपाली सेनामा कार्यरत रामजालीले बीचमै जागिर छाडेर शुरु गरेको यो व्यवसायबाट एक वर्षमा करिब रु सात लाख बराबरको आम्दानी गरेको बताउँछन् । “बंगुरपालन व्यवसायबाट नसोचेको जति आम्दानी भएको छ, व्यवसाय शुरु गरेको दुई तीन वर्षभित्रमा नै लगानी उठिसकेको छ” उनले भने ।

विदेशबाट फर्केका र विदेश जाने तयारीमा रहेका चापपानी, तानसेन, झिरुवास, रामपुर, झडेवा, पालुङमैनादीका युवा बंगुरपालन व्यवसायमा आबद्ध छन् ।

बंगुरपालनका लागि धेरै लगानी गर्न नपर्ने, छोटो समयमा मनग्य आम्दानी लिन पाइने भएपछि वैदेशिक रोजगारी छाडेर यस व्यवसायमा रमाइरहेका छन्, यहाँका युवाहरु । पाठापाठी गाउँमै बिक्री हुने भएपछि व्यवसायमा झन हौसला बढेको व्यवसायीको भनाइ छ ।

एक वर्षमा चार पटकसम्म ब्याउने र एक वटा बंगुरले १२ देखि १६ सम्म पाठापाठी जन्माउने हुँदा प्रशस्त आम्दानी लिन सकिने चापपानीका कृषक ओमबहादुर सारु बताउँछन् ।

चापपानी साना किसान कृषि सहकारी, आत्मनिर्भर कृषि सहकारी संस्था पालुङमैनादी, अमरज्योति महिला कृषि सहकारी संस्था झडेवा, नयाँ कृषि अभियान कृषि सहकारी संस्था गाडाँकोट, शिवासन कृषि सहकारी संस्था यम्घा र काउले कृषि सहकारी संस्था झिरुवासलगायतका संस्थाले पशुसेवा कार्यालयको सहयोगमा सहकारी खेती बंगुरपालन कार्यक्रमअन्तर्गत समूहमा बंगुरपालन व्यवसाय गरिरहेका छन् ।