पु.समाचार

स्थानीय तहले जिम्मेवारका साथ विवाद निरुपण गर्नुपर्ने

इटहरी । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले जल, जमिन र जंगलसम्बन्धी विवादलाई अन्त्य गर्ने जिम्मेवारी अब स्थानीय तहमा आएकाले यस विषयमा स्थानीय तहले जिम्मेवार भएर निरुपण गर्ने दक्षता प्राप्त गर्न जरुरी रहेको बताएको छ ।

सुनसरी जिल्लाका १२ स्थानीय तथा जिल्ला समन्वय समितिका निर्वाचित सभापति उप–सभापति प्रमुख, उपप्रमुख तथा अध्यक्ष एवम् उपाध्यक्षलाई निर्वाचित हुनु भएकामा बधाई तथा शुभकामना दिन आज इटहरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो ।

प्राकृतिक स्रोतहरु जल, जमिन र जंगलको विषयमा नेपालका विभिन्न स्थानमा लामो समयदेखि विवाद झैँ–झगडा र मुद्दासमेत चलेर जनजीवनसमेत अस्तव्यस्त बन्ने घटनालाई जडभित्रै पुगेर आपसमा फाटेका मन मिलाउने उद्देश्यले सफल पद्धति साबित भएको यो प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले मिलाउँदै आएको छ ।

अहिले संविधानले नै स्थानीय तहमा सबै प्रकारका विवाद वा झँै–झगडा निरुपण गर्नका लागि उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा रहने न्यायिक समितिलाई पनि विवादको दीर्घकालीन रुपमा समाधान गर्न सुझाव दिनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

उक्त अवसरमा जिल्ला समन्वय समितिका सभापति गोपाल राजभण्डारीले गाउँघरमा उत्पन्न हुने द्वन्द्व समाधानका लागि ज्यादै सहज र प्रभावकारी उपाय साबित भइसकेको यो विषयलाई गाउँको भित्री तहसम्म पु¥याउने ज्ञान, सीप र दक्षताको शिक्षा दिन जरुरी रहेको बताए ।

कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक चोपबहादुर भुसालले जल जमिन र जंगलसँग सरोकार राख्ने विषयमा उत्पन्न विवाद वा मुद्दालाई जरैदेखि अन्त्य गर्न सफल भएको अभियान कार्यक्रमले अहिले देशभरमा चार हजार ३०० विवाद र १०७ वटा ठूला विवादको समाधान गरिसकेको जानकारी दिए।

कार्यक्रममा नगरपालिकाका उपप्रमुखका तर्फबाट इनरुवाको उपप्रमुख जमुना पोख्रेल, गाविका अध्यक्षका तर्फबाट देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता, नेकपा (एमाले) सुनसरीका सभापति रमेश बस्नेत लगायतले आ–आफ्नो विचार राखेका थिए ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र पूवाञ्चल प्रमुख हिमबहादुर डिसीको अध्यक्षमा भएको उक्त कार्यक्रममा राष्ट्रिय स्रोतव्यक्ति कृष्णा राईले सुनसरीको विभिन्न स्थानमा उत्पन्न विवाद र समाधान भएका झैँ–झगडाको आँकडा प्रस्तृुत गर्दै लामो समयदेखि नमिलेको विवाद मिलाएको जानकारी दिए ।