राजनीति

राष्ट्रियसभाको निर्वाचनपछि पनि देउवा सरकारले राजीनामा नदिए धकेलेर फालिदिन्छौंः नेता पण्डित

काठमाण्डौ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनसम्म यो सरकारलाई आफूहरुले कुरेर बस्ने यदि निर्वाचनपछि पनि रुगेरै बसिरह्यो भने धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् ।

शनिबार राजधानीमा भएको एक साक्षात्कारमा बोल्दै नेता पण्डितले निर्वाचनपछि पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार रँगेर बसिरहे धकेलेरै बाहिर फालिदिने चेतावनी दिएका हुन् ।

उनले भने,‘हामी निर्वाचनसम्म धैर्य गर्छौं, यदि त्यसपछि पनि उहाँहरु सरकारमै टाँसिरहन चाहानुभयो भने हामी धकेलेर निकालिदिन्छौं ।’

उनले अहिलेको अवस्थामा प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको नियुक्तीको विषयले जुन ठाउँ लिईरहेको त्यसबारे टिप्पणी गर्दै भने,‘प्रदेशको प्रमुखको नियुक्तीमा धेरैको चासो रहेको छ, राजधानी बनाउने विषयमा ठाउँठाउँमा आन्दोलन भैरहेका छन् । कतिपय ठाउँमा हाम्रो ठाउँमा मान्नुपर्छ भनेर माँग आईरहेको छ। यसलाई मैले अस्वभाविक मानेको छैन ।’

सरकारलाई प्रदेश प्रमुख तोक्न र राजधानी तोक्नको लागि कसैले नरोकेको उल्लेख गर्दै नेता पण्डितले भने, ‘सरकारले नतोकिरहेको एउटा स्थिति छ । यदि सरकार तोक्न सक्ने हैसियतमा छैन भन्ने हो भने सरकार छोड्नुपर्यो । सरकार बनेको पहिलो हप्तामा हामी प्रदेशको अस्थायी राजधानी तोकिदिन्छौं । अहिले देखिएका सबै असहमतिहरु समाप्त भएर जान्छन् ।’
उनले यही स्थिति विगतमा पनि प्रदेशको सिमांकन गर्दा रयाँर्यर्याँई अवस्था रहेको स्मरण गराउँदै भने,‘संविधान नै जारी हुन दिन्नौं भन्ने थियो । त्यसकारण यसमा ढिलाई गर्नुहुँदैन्, सरकारले तोक्नुपर्यो।’

प्रदेश नम्बर १ को राजधानी सबै हिसावले बृहत्तर विराटनगरलाई नै बनाउनुपर्नेमा उनको जोड थियो । उनले भने, ‘मेरो मत भन्नुहुन्छ भने मैले त दुई वर्षदेखि भन्दै आएकोछु कि विराटनगर महानगरपालिकादेखि लिएर, ईटहरी उपमहानगरपालिका, दुहवी, सुन्दरहरैचाका ७ वटा वडा बनाएर बृहत्तर विराटनगर नामकरण गरेर प्रदेशको राजधानी तोकियो भने सबैभन्दा राम्रो हुन्छ । बृहत्तर विराटनगर बनाउनुपर्छ, यो भयो भने सबै समेटिन्छ ।’

पहिला पनि धनकुटा पूर्वाञ्चलको सदुरमुकाम रहेको भएपनि जम्मै कार्यकारी काम विराटनगरमा हुन्थ्यो भन्दै उनले थपे,‘तराई, मधेश र पहाडको सन्तुलित बसोबास पनि छ । जनजाति र अन्यवीचको पनि सन्तुलित बसोबास छ । त्यसकारणले सन्तुलित रुपमा जनसंख्याको बसोबासको सिमितता, साझा थलोको रुपमा हुन्छ । अहिले मैले सुन्छु, सरकारले कहिले एकतिर आँखा फर्काएको छ। क्हिले अर्कोतिर अलि अलि रक्तपात होस् भन्ने सरकारले चाहेको हो भने यस्तो नहोस् । क्लियर कुरा हो । तोक्न सक्ने अधिकार हुँदापनि तोक्न नसक्ने हो भने सरकार छोड्नुपर्यो ।’