अन्तर्राष्ट्रिय

उत्तर कोरियाले जनापानमा हानेको क्षेप्यास्त्र आफ्नै शहरमा खसेपछि…

एजेन्सी । उत्तर कोरियाले झण्डै ९ वर्षदेखि क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । चौतर्फी विरोध र आलोचना भइरहँदा पनि उसले क्षेप्यास्त्र परीक्षण गर्न छाडेको छैन ।

कहिले जापानी, कहिले दक्षिण कोरियाली त कहिले अमेरिकी भूभाग वा समुद्रमा परीक्षण गराउने उत्तर कोरियाको यसपालिको परीक्षण भने आफ्नै देशमा भएको छ ।

परीक्षण क्रममा भएको प्राविधिक गल्तीका कारण प्रक्षेपण गरेको एक क्षेप्यास्त्र उत्तरको आफ्नै सहरमा खसेर विस्फोट भएको छ ।

स्याटलाइटले लिएको तस्वीरहरूले यो कुराको पुष्टि भएको अमेरिकी अधिकारीहरूले दाबी गरेका हुन्। परीक्षण असफल भएपछि घना बस्ती भएको टोकछानमा गएर सो क्षेप्यास्त्र विस्फोट भएको बताइएको छ ।

गत वर्षको अप्रिल महिनामा परीक्षण गरिएको मध्यम रेन्जको सो क्षेप्यास्त्रले टोकछानका औद्योगिक भवनहरु लगायत कृषि क्षेत्रमा असर गरेको हुन सक्ने बताइएको छ । यसले पुर्याएको मानवीय र अन्य क्षतिबारे भने कुनै खुलासा गरिएको छैन ।

जापानी समुद्रको उत्तरतर्फ लक्षित गरी प्रहार गरिएको सो क्षेप्यास्त्रको भित्री इन्जिनमा खराबी आएपछि ५० मिनेट आकाशमा उडेर क्षेप्यास्त्र टोकछानमा खस्न पुगेको थियो । त्यसपछि यसको एक महिनामै किम जोन उनले अर्को क्षेप्यास्त्रको सफल परीक्षण गरेर देखाएका थिए ।