स्वास्थ्य

बैतडीमा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दो, यस्तो छ पछिल्लो तथ्यांक

बैतडी । बैतडीमा स्वास्थ्य बीमा कार्यक्रममा एक वर्षको अवधिमा तीन हजार ४०० बढी सदस्य आबद्ध भएका छन् ।

सरकारले आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्योपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा बैतडीमा हालसम्म तीन हजार ४२५ जना सदस्य आबद्ध भएका हुन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विसं २०७३ पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । एक वर्षको अवधिमा ७०१ परिवारका तीन हजार ४२५ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका समितिका जिल्ला प्रबन्धक जनक साउँदले जानकारी दिए ।

स्वास्थ्य बीमाबापत रु १८ लाख सात हजार ७६५ योगदान रकम संकलन भएको छ । स्वास्थ्य बीमा गरेकामध्ये हालसम्म ९२७ जनाले उपचार सेवा प्राप्त गरेका समितिले जनाएको छ ।

स्वास्थ्य बीमा बिरामी हेरचाहबापत जिल्ला अस्पताल बैतडीले एक लाख ९५ हजार ३६०, पाटन प्राथमिक स्वास्थ्य केन्द्रले ८५ हजार ४३३, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले १८ हजार ६९२, गोकुलेश्वर अस्पताल दार्चुलाले १३ हजार ८०८ र सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुराले दुई लाख बढी दाबी भुक्तानी रकम पाएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले जनाएको छ ।

स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाइने भएकाले जिल्लामा पछिल्लो समय आकर्षण बढ्दै गएको छ ।

जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली, गोकुलेश्वर अस्पताल दार्चुला र सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुराका साथै ती स्वास्थ्य संस्थाले सिफारिश गरेमा सूचीकृत भएकालाई धनगढी, कोहलपुर, काठमाण्डौलगायत देशका विभिन्न ठाउँमा रहेका अस्पतालबाट सेवा पाउने व्यवस्था रहेको छ ।

पाँच जनासम्मको परिवारले वार्षिकरूपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य रु ४२५ का दरले थप रकम शुल्क तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सकिन्छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको सेवा पाइने र पाँचभन्दा थप सदस्य भएमा जनही रु १० हजार गरी बढीमा रु एक लाखसम्मको सेवा पाइने बताइएको छ ।

गत वर्ष स्वास्थ्य बीमा कार्यक्रममा सदस्य बनेका परिवार नवीकरण म्याद समाप्त हुन लागेकाले नवीकरण गर्न अनुरोधसमेत गरिएको छ । नवीकरण नगर्ने सदस्यको स्वतः म्याद समाप्त भई सदस्य रद्द हुने जनाएको छ ।

कार्यक्रमबाट बीमाकर्ताले बहिरंग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमका सेवा पाउनेछन् ।

वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गर्न सकिन्छ । प्रदेश नं ७ का बैतडी, अछाम र कैलालीसहित देशका २२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।

गरिब नागरिकका लागि स्वास्थ्य बीमा बढी आवश्यक हुने भएकाले बीमा गराएर पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुन सबै नागरिकलाई आग्रह गरिएको छ ।