अन्तर्राष्ट्रिय

हैजाको प्रकोपबाट जाम्बियाको विश्वविद्यालय बन्द

लुसाका । जाम्बियामा हैजाको प्रकोप बढेपछि यहाँको सवैभन्दा ठूलो विश्वविद्यालय शुक्रबार देखि बन्द गरिएको छ ।

विश्वविद्यालय व्यवस्थापनले केही समयदेखि फैलिएको हैजाको प्रकोपका कारण विश्वविद्यालयमा पठन पाठनका साथै सवै काम कारबाही बन्द गर्ने घोषणा गरिएको स्पष्ट पारेको छ ।

जाम्बियाको राजधानी लुसाकामा रहेको जाम्बिया विश्वविद्यालय नै जाम्बियाको सवै भन्दा ठूलो विश्वविद्यालय हो । सो विश्वविद्यालय प्रशासनले हैजाकै कारण शुक्रबारदेखि सवै कामकारबाही बन्द गरिएको घोषणा गरेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार सितली वामुन्डीलाले हैजाको प्रकोप नियन्त्रणमा नआए सम्म विश्वविद्यालय अन्तर्गतका कुनै पनि संकाय वा निकाय सञ्चालन नगर्न निर्देशन दिइएको बताए ।

हैजाको प्रकोपले विषेशगरेर राजधानी लुसाका बढी प्रभावित भएको र बताइएको छ । विश्वविद्यालयको व्यवस्थापनले अब सो विश्वविद्यालय कहिलेदेखि खुला हुने हो भन्ने बारेमा भने केही पनि बताएको छैन ।

विद्यालय तथा कलेजहरु पनि बन्द भएपछि घर फर्किन लागेका विद्यार्थीहरुका लागि निःशुल्क यातायात सेवाको व्यवस्था गरिने रजिष्ट्रार वामुन्डीलाले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।

जाम्बियाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक सय जनामा हैजाको प्रकोप देखिएको विवरणहरु प्राप्त भएको जनाएको छ ।

हैजाको प्रकोप सुरु भएदेखि अहिले सम्म २ हजार २४८ जना नागरिकलाई हैजा भएको विज्ञप्तिमा जनाइएको छ ।  स्वास्थ्यमन्त्री चितालु चिलुफियाले फोहोरका कारण पछिल्लो समयमा हैजाको प्रकोप फैलाउन सहयोग पुगेको बताए ।

यसरी हैजा फैलाउने काममा सहयोग पु¥याएका लुसाका तथा वरपरका विभिन्न खाजा पसल (फास्ट फुड)तथा केही होटलहरु पनि बन्द गराइएको बताए ।

ती पसलहरुमा खाद्य पदार्थको गुणस्तर परीक्षण गर्दा हैजा फैलाउने खालको देखिएकाले बन्द गराइएको पनि उहाँले स्पष्ट पार्नुभएको लुसाकाबाट प्राप्त समाचारमा जनाइएको छ ।