पर्यटन/संस्कृति

सिमसार क्षेत्रबाट चराचुरुङी विस्थापित हुँदै, कारण यस्तो

गाईघाट । उदयपुर त्रियुगा नगरपालिकादेखि पूर्वी क्षेत्रको तपेस्वरी क्षेत्रसम्मको त्रियुगा नदी किनार क्षेत्रका अधिकांश नदी किनारका सिमसार जग्गा अतिक्रमणसँगै सुख्खा र उजाड बनेपछि यस क्षेत्रमा लामो समयदेखि रहँदै आएका ठूलो संख्याका चरा पक्षी अहिले विस्थापित भएका छन् ।

नदी किनारका सिमसार क्षेत्रका जग्गा स्थानीयले अतिक्रमण गर्ने र खेती गर्ने तथा बसोबास बसाउँदै गएर सुख्खा बन्न थालेपछि यस क्षेत्रमा रहेको अधिकांश चरा, पक्षी अहिले विस्थापित भएका छन् भने अन्यत्रबाट समेत चरा, पक्षी आउन छाडेका छन् ।

त्रियुगा नगरपालिका–२ भुल्केका ७० वर्षीय चक्रमणि पोखरेलका अनुसार अहिले त्रियुगा क्षेत्रमा रहँदै आएका सेतो बकुल्ला, सारसलगायत अतिनै दुर्लभ जातका चरासहित सिम कुखुरा सबै विस्थापित भएको हो ।

नदी किनार क्षेत्रको खेत जग्गाको सिमसार स्थानीयका कारण नै मासिएर भ्यागुता तथा माछा चरा तथा पक्षीका आहारा हराएपछि यस क्षेत्रका पक्षीसमेत सबै विस्थापित भएको सत्यदेवी मावि भुल्केका प्रध्यानाध्यापक तिलकबहादुर कटुवाल बताउँछन् ।

चरा पक्षी र मानवको अनोन्याश्रित सम्वन्ध रहनुपर्ने तर स्थानीयले नै सिमसार क्षेत्र समाप्त बनाएपछि अहिले ३० किलोमिटर त्रियुगा क्षेत्र चरा तथा पक्षीविहीन शून्य वन्न पुगेको प्रधानाध्यापक कटुवाल बताउँछन् ।

चौदण्डी नगरपालिका–३ हँडियाका ७६ वर्षीय गुजाइ चौधरीका अनुसार केही वर्ष अघिसम्म पनि सप्तकोशी नदी हुँदै विदेशबाट आएका चरा त्रियुगा क्षेत्रमा मंसिर, पुस र माघ महिनाभरि सबैतिर बस्ने र चर्ने रमाउने गरेको देख्न पाइने गरेको भए पनि अहिले शून्य रहेको छ ।

त्रियुगा नदी क्षेत्र आसपासका ठूलो सिमसार भूभाग स्थानीयको कारण नै अतिक्रमण हुँदै मासिँदै गएपछि नदी क्षेत्र अहिले साँच्चिकैै चरा तथा पक्षीविहीन वन्न पुगेको गाईघाटका चन्चलाल बोट बताउँछन् ।

विगतमा यस क्षेत्रमा पाइने गरेको पानी हाँस, सिम कुखुरा, सारस, सेतो बकुल्लाजस्ता अतिनै दुर्लभ चरा पक्षी एकादेशको कथा जस्तो वन्न पुगेको यस क्षेत्रका बूढापाका नै बताउँछन् ।

चरा, पक्षी र मान्छेबीचको नजिकको प्रकृतिक सम्वन्ध रहँदै आएको कारण मानिस नजिकै बस्न रुचाउने पक्षी अहिले त्रियुगा क्षेत्रबाट भने साँच्चिकैै विस्थापित बनेर यो क्षेत्र चरा तथा पक्षीविहीन नै वन्न पुगेको हो ।