स्वास्थ्य

अस्पतालको सेवा उत्कृष्ट बनाउँदै लैजानुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई उत्कृष्ट बनाउँदै लैजानुपर्ने बताएका छन् ।

नेपाल प्रहरी अस्पतालमा ‘मिट दि पायनियर’ कार्यक्रमको आज शुभारम्भ गर्दै पूर्वराष्ट्रपति यादवले बिरामीसँगको असल व्यवहार बिना अस्पतालको सेवा उत्कृष्ट हुन नसक्ने विचार व्यक्त गरे ।

उनले भने, “अहिले चिकित्सकीय क्षेत्रमा ठूलो परिवर्तन भएको छ, आधुनिक उपचार शैली, उपकरण प्रविधिले ठूलो फड्को मारेको छ यस्तो अवस्थामा पनि बिरामी र चिकित्सकको सम्बन्ध सुमधुर हुनैपर्छ, अन्यथा उत्कृष्ट सेवा प्रभावित हुनसक्छ ।”

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले प्रहरी अस्पतालले जनतासँगको सम्बन्ध अझ मजबुत बनाउन आमजनताका लागि पनि सेवा दिन शुरु गरिएको बताए ।

उनले प्रहरी अस्पतालबाट आमजनताले समेत स्वास्थ्य सेवा पाउन थालेपछि प्रहरी र जनताबीचको सम्बन्ध बलियो भई आपराधिक क्रियाकलाप कम गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको उल्लेख गरे ।

अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिर्देशक डा दिनेशचन्द्र पोखरेलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि ‘मिट द पायनियर कार्यक्रम’ शुरु गरिएको बताए ।