कृषि

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोनाको शुभारम्भ

जनकपुरधाम । कृषिमन्त्री रामकृष्ण यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बृहत व्यावसायिक कृषि उत्पादन तथा केन्द्र (सुपर जोन) माछा परियोजना धनुषा जिल्ला कार्य क्षेत्रको आज शहीदनगर यदुकोहामा शुभारम्भ गरे ।

स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकासको दशवर्षे विकास रणनीतिअन्तर्गत माछाको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर कृषि अर्थतन्त्रको आधारशीला निर्माण गर्नु सो परियोजनाको उद्देश्य रहेको छ ।

सो परियोजनाअन्तर्गत धनुषा जिल्लाको जनकपुर उपहानगरपालिका, औरही गाउँपालिका , शहीदनगर नगरपालिका र कमला नगरपालिकाको एक हजार हेक्टरभन्दा अधिक क्षेत्रमा माछा उत्पादन विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

सो अवसरमा मन्त्री यादवले जनकपुरको माछा नेपालमै प्रसिद्ध रहेको तथ्यलाई मनन गर्दै सरकारले यसलाई सुपर जोनका रूपमा प्रवर्धन गर्न यस परियोजना कार्यान्वयन गरेको जानकारी दिए ।

उनले परियोजनाबाट माछाको विशिष्टिकृत क्षेत्र निर्माण भइ सम्मानजनक व्यवसायका रूपमा विकास हुने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य रामसरोज यादवले जमिनको चक्लाबन्दी र चुरेको संरक्षण गरी परियोजना कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

शहीद नगरपालिका प्रमुख उदय अरगरिया, कमला नगरपाालिकाका प्रमुख रामउदगार गोइत र औरही गाउँपालिकाका प्रमुख ब्रम्हदेव यादवले परियोजनाले रोजगारीका अवसर र माछा उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा टेवा पुग्ने धारणा राखे ।

कृषि विकास मन्त्रालयका सचिव डा सुरोज पोखरेलले परियोजनाबाट उत्पादन क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुने बताए ।

परियोजना निर्देशक डा नरहरि घिमिरे र धनुषा सुपर जोन प्रमुख राजेन्द्र यादवले जमिनको चक्लाबन्दी, विशिष्टिकृत व्यवसायीकरण, उन्नत प्रविधि र गुणस्तरीय पूर्वाधार विकास र उपलब्धिमा आधारित सहजीकरण अवधारणाअन्तर्गत कृषि विज्ञ गाउँ तहसम्म पुगी सेवाप्रवाह गर्ने भएकाले जिल्लाको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।