खेलकुद

सगुनलाई दोहोरो स्वर्ण

काठमाडौं । नेपालकी सगुन परियारले छैटौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार दोहोरो स्वर्ण जितेकी छन् । जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघद्वारा आयोजित प्रतियोगितामा सगुनले सिनियर महिला ६० केजी र एकल कातामा स्वर्ण जितेकी हुन् । सगुनले ६० केजीमा नेपालकी सिम्रन घले गुरुङ र एकल कातामा नेपालकै दीपा गुरुङलाई फाइनलमा पराजित गरिन् ।
बनस्थलीमा भएको प्रतियोगिताको सिनियर पुरुष ६० केजीमा अंकित गुरुङ तथा ५५ केजीमा सोनिश केसीले नेपाललाई स्वर्ण दिलाए ।
क्याडेटतर्फ पुरुष ४५ केजीमा राजन भोलुन तामाङ तथा महिला ४० केजीमा रचना राना र ४५ केजीमा सुमिना थापा मगरले नेपालका लागि स्वर्ण जिते ।
सब जुनियर पुरुषको ११–१२ वर्षमा कृष तामाङ, १२–१३ वर्षमा दीप राजबाहक, ९–१० वर्षमा सुभम गौड तथा एकल काताको ७–८ वर्षमा उमेश गुरुङ र ९–१० वर्षमा विशुक गुरुङले स्वर्ण हात पारे । स्वर्णधारी सबै नेपालका हुन् ।

प्रतियोगिताको सांसद भूमिप्रसाद त्रिपाठीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा टेन्सवर्गका प्रबन्ध निर्देशक तेजेन्द्र खड्का, डिएक्सएन ग्रुपका प्रोप्राइटर पुस्कर छन्त्याल, नेपाल कराते महासंघअन्तर्गत रेफ्री कमिटीका अध्यक्ष राजेन्द्र कपाली तथा नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते संघका अध्यक्ष सञ्जय रन्जितलाई सम्मान गरिएको थियो ।

दुईदिने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका १ सय ५० खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका वरिष्ठ उपाध्यक्ष विसनसिंह खड्काले जनाएका छन् ।