पु.समाचार

शीतलहरले समस्याग्रस्त बनेको तराईमा घाम लागेपछि खुशीयाली

बर्दिवास । एकाबिहानै झलमल्ल घाम लागेपछि महोत्तरी जिल्लाका गाउँ÷नगर बस्तीमा खुशी छाएको छ ।

गत सोमबारदेखि दोहोरिएर बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ खेपिरहेका यहाँका बासिन्दालाई आज एकाबिहानै पारिलो घाम लागेपछि ठूलो राहत भएको हो ।

यसपालि पुस महिनामा गत सोमबार दोहोरिएर हुस्सुले ढाकेर स्याँठ चल्दा निकै चिसो बढेको थियो । यसअघि लाग्दो पुसमा पनि चार दिन हुस्सुले ढाकेर चिसो स्याँठ चल्दा निकै जाडो बढेको थियो ।

गत सोमबारदेखि बाक्लो हुस्सु लागेसँगै लगातार चिसो सिरेटो बहँदा जाडोले कठ्याङ्ग्रिएर बस्नु परेको थियो । बिहीबार दिउँसो जिल्लाको उत्तरी क्षेत्रमा घाम देखिए पनि जिल्लाका सबैतिर एकाबिहानै पारिलो घाम भने आज पाँच दिनपछि देखिएको हो ।

गत सोमबारदेखि लगातार बाक्लो हुस्सुले ढाकेर घाम नदेखिँदा बढेको चिसो बिहीबार दिउँसो पारिलो घाम देखिएसँगै जिल्लाको बर्दिवास क्षेत्रमा राहत महसुस गरिएको थियो । आज त सबैतिर एकाबिहानै पारिलो घाम लागेपछि यहाँका बजारमा ह्वात्तै चहलपहल बढेको छ ।

घाम देखिनासाथ पाँच दिनदेखि जाडोले कुँजिएका वृद्धवृद्धा घाम ताप्न घर बाहिर निस्केका छन् । पारिलो घाम लागेपछि स्कुले नानीहरु खुशीले दङ्ग पर्दै खेलकुद र पठनपाठनमा लागेका देखिन्छन् ।

एकाबिहानै घाम झलमल्ल देखिएपछि अब मौसम राम्रो हुने आशमा लुगा धोएर जीविकोपार्जन गर्ने धोबीहरु पानीघाटमा लुगा धुन थालेका छन् । पारिलो घाम देखिएपछि कृषि कार्यमा व्यस्तता बढेको छ भने चौपाया बस्तुभाउ खोलेर डुलाउन पशुपालक किसान लागेका छन् ।