स्वास्थ्य

जिल्ला अस्पताल यसरी बन्यो गौचरन

गौशाला । सम्बन्धित निकायको लापर्वाहीका कारण महोत्तरी जिल्ला अस्पताल गौचरनमा परिणत भएको छ । अस्पतालको चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ ।

जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाईवस्तु, सुँगुरबंगुरको मलमूत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न ठोस फोहर वस्तु जताततै देखिन्छ भने शौचालयमा दिसापिसाब माथिसम्म भरेर वरिपरि फैलिएकाले अस्पताल परिसर दुर्गन्धित भएको छ ।

अस्पताल परिसर तथा अस्पतालका शौचालय र अन्य उपचार गर्ने स्थानमासमेत रहेका फोहरमैला र दुर्गन्धले यहाँ बिरामी भई उपचार गराउन आउने थप बिरामी हुने सेवाग्राहीको गुनासो छ ।

सम्बन्धित सरोकारवालाले उचित ध्यान नपु¥याउँदा करोडौँको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न अस्पतालमा बिरामीले स्तरीय उपचार पाउनाको साटो थप बिरामी हुनु परेको छ । सो अस्पतालको यस्तो दुर्दशाबारे अस्पताल प्रशासनसँग सोधपुछ गर्दा एकले अर्कामाथि दोषारोपण मात्र गरे ।