उर्जा

फ्याटुङ र डिल्लीबर पहिलोपटक बिजुलीले झिलीमिली

गाईघाट, उदयपुर । जिल्लाको रौतामाई गाउँपालिकाको मध्यविकट पहाडी गाउँ फ्याटुङ र डिल्लीबरमा पहिलोपटक स्थानीय खोलाबाट उत्पादित बिजुलीले गाउँ झिलीमिली भएको छ ।

तीन महिनाअघि स्थानीय फलामे खोलाबाट दुईकिलोवाट विद्युत् उत्पादन भई दुईदिनदेखि सो गाउँमा निरन्तर बिजुली बल्न थालेपछि गाउँघर नै झिलीमिली भएर रातको समयमा अन्धकारमय गाउँ उज्यालोमा परिणत भएको रौता–८ का जितबहादुर मगर बताउछन् ।

जिल्लाको प्रायः सबै गाउँघरमा विद्युत्को पहुँच पुगे पनि लामो समयदेखि रौतामाई गाउँपालिका–८ स्थित फ्याटुङ र डिल्लीबरवासी लामो समयदेखि कुपी बालेर रात कटाउनु पर्ने बाध्यता हटेको स्थानीयवासी कुमारी मगरले बताए । अहिले गाउँको खोलाबाट बिजुली उत्पादन भएपछि रात पनि दिन जस्तै भएको उनको भनाइ छ ।

करिब रु १५ लाख ७१ हजारको लगानीमा फलामे खोलाबाट पावरहाउस निर्माण भएपछि अब गाउँमा बिजुली बाल्न, मोबाइल चार्ज गर्न रेडियो, टिभी सुन्न र हेर्नसमेत सहज भएको डिल्लीबरका हेमराज खत्री उल्लेख गर्छन् ।

यस्तै गाउँको स्थानीय विद्यालयमा अब कम्प्युटर शिक्षा सञ्चालन गर्नसमेत सहज भएको रौता पञ्चकन्यामाई प्राथमिक विद्यालयका शिक्षक राजन कार्की बताउछन् ।
ओरेक नेपाल तथा सामाजिक परिचालन ग्रामीण प्रविधि सेवा केन्द्रको प्राविधिक सहयोग र जिआइजेड तथा रौतामाई वडा नं ८ र स्थानीय उपभोक्ताको आर्थिक लगानीमा उक्त विद्युत् उत्पादन गरिएको उपभोक्ता समितिका अध्यक्ष शुरबहादुर मगर जानकारी दिन्छन् ।

आफ्नै परिश्रम र लगानीबाट अँध्यारो रहेको गाउँमा पहिलोपटक बिजुली बाल्न पाएका कारण आफूहरुले साँच्चिकै विकासको महसुस गरेको स्थानीयवासी राजकुमार आले मगरको धारणा छ ।

चौँतिस घर परिवार रहेको उक्त दुईगाउँमा विद्युत्बाट गाउँमा नै पहिलोपटक घट्टासमेत सञ्चालन गरिएकोे उपभोक्ता समितिका अध्यक्ष मगर बताउछन् ।