पु.समाचार

यसरी गरियो लुहार दम्पतीको घाँटी रेटेर हत्याको प्रयास

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडा सार्कीपार्की टोलका लुहार दम्पतीको गए राति घाँटी रेटेर हत्याको प्रयास गरिएको छ ।

अपांगता भएका अन्जाजी ४० वर्षीय गोविन्द लुहार र उहाँकी ३५ वर्षीया श्रीमती सरस्वती लुहारको घरभित्रै घाँटी रेटेर हत्याको प्रयास गरिएको हो । दुवै घाइते बेहोस अवस्थामा घरभित्रै फेला परेको झलारी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए । घटनास्थलमा चक्कु र घन फेला परेको उनले बताए।

दुवैजनाको घाँटी र टाउकामा गम्भीर चोट लागेको छ । सो घटनामा संलग्नको खोजीका लागि प्रहरीले अनुसन्धान थालेको छ । बेहोस अवस्थामा फेला परेका घाइते दम्पतीलाई स्थानीय बासिन्दाको सहयोगमा आज बिहान उपचारका लागि महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याइए पनि अवस्था गम्भीर भएकाले थप उपचारका लागि कैलाली पठाइएको छ । दुवै दम्पतीको उपचारका लागि रु १५ हजार बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले उपलब्ध गराउनुका साथै सो घटनाको सत्यतथ्य छानबिनका लागि माग गरेका छन् ।