कृषि

किसानलाई राहतका लागि सिफारिश

भीमदत्तनगर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रमा जंगली हात्तीले धानबालीमा पु¥याएको क्षतिको विवरण संकलन गरी राहतका लागि सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयलाई सिफारिश गरेको छ ।

दुई महिनाअघि निकुञ्जले यहाँको वेदकोट नगरपालिकाका २५, शुक्लाफाँटाका चार गरी २९ जना किसानको धानबालीमा जंगली हात्तीले क्षति पु¥याएको भन्दै राहतका लागि क्षेत्रीय वन निर्देशनालयमा पत्राचार गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए।

त्यसैगरी शुक्लाफाँटा नगरपालिकामै एउटा घरसमेत हात्तीले भत्कयाएको जनाउँदै निकुञ्जले उक्त घटनाको राहतका लागि पनि सिफारिश गरेको छ । “जग्गाधनी पुर्जा भएका पीडित किसानको लगत संकलन गरेर राहतका लागि क्षेत्रीय वन निर्देशनालयमा पठाएका छौँ”, प्रमुख संरक्षण अधिकृत ढकालले भने, “लगत पठाएपछि पनि हात्तीले नोक्सान पु¥याएर पीडित निवेदन दिन आइरहेकै छन् ।”

उनले सरकारी प्रावधानअनुसार जग्गाधनीपुर्जा भएका किसानको मात्रै निवेदनमाथि कारबाही हुने बताए । “निवेदन आउने क्रम जारी छ”, ढकालले भने, “चाँडै बैठकबाट निर्णय गरेर पुनः राहतका लागि योग्य फाइल क्षेत्रीय वन निर्देशनालयमा पठाउँछौँ ।” क्षेत्रीय वन निर्देशनालयमा सिफारिश सहितको पत्राचार गरिए पनि हालसम्म राहत वितरणका लागि कुनै रकम आएको छैन । निकुञ्जको मध्यवर्ती क्षेत्रसँगै कञ्चनपुरमा राष्ट्रिय वनको क्षेत्राधिकार पर्ने ठाउँमा समेत जंगली हात्तीले अन्नबालीमा क्षति पु¥याएको छ ।

जिल्ला वन कार्यालय कञ्चनपुरका वन अधिकृत शिवप्रसाद शर्माले गत वर्ष हात्तीबाट पीडित किसानलाई राहत प्रदान गरिएको बताए। उनले चालु आवमा पनि पीडित किसान राहतका लागि कार्यालयमा आइरहेको बताए । गत वर्ष जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकी एक महिलाका परिवारलाई समेत कार्यालयले राहत रकम प्रदान गरेको थियो ।

गत वर्ष मात्रै धान, गहुँ, उखु गरी करिब डेढ सयभन्दा बढी किसानले वन कार्यालयमा राहतका लागि निवेदन दिएका थिए ।