शिक्षा

सप्तरीमा चिसो बढ्यो, विद्यालय बन्द

सप्तरी। विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ ।

खासगरी बालबालिका र वृद्धवृद्धामा उक्त रोग अत्यधिक देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

साथै गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जाडोबाट उत्पन्न हुने रोगका बिरामीको उपचारका लागि अत्यधिक आउने गरेको पाइएको छ ।

त्यसैगरी सप्तरीका स्वास्थ्य चौकीमा पनि निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोगका बिरामी आउने गरेको सकरपुरास्थित स्वास्थ्य चौकीबाट बुझिएको छ ।

सामुदायिक विद्यालय बन्द

यसैबीच, विगत चार दिनदेखि अत्यधिक चिसो बढेका कारण जनजीवन कष्टकर भएपछि सप्तरीका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार निरन्तरको शीतलहरले अत्यधिक चिसो बढेपछि बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय बन्द गर्नुपरेको हो । ती विद्यालय बिहीबार र शुक्रबार बन्द गर्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले राससलाई बताए ।

चिसोकै कारण कतिपय विद्यालयमा विद्यार्थी आउनेक्रम घटेपछि बाध्य भएर विद्यालय बन्द गरिएको उनले बताए ।

सप्तरी जिल्लामा ४१२ वटा सामुदायिक विद्यालय रहेका छन् । यता जिल्लाका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द गरिए पनि निजी विद्यालय भने सञ्चालनमा नै रहेका छन् ।