पु.समाचार

हलेसीका अग्निपीडितका लागि राहत संकलन

खोटाङ । हलेसीका अग्निपीडितका लागि राहत संकलन शुरु गरिएको छ । मंगलबार राति भएको आगलागीमा घरसहित सबै बन्दोबस्तीका सामान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका अग्निपीडितको सहयोगका लागि राहत संकलन शुरु गरिएको हो ।

हलेसी बजारबाट बुधबार रु तीन लाख रकम संकलन गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । अग्निपीडितको सहयोगार्थ राहत संकलनका लागि काठमाडौँमा पनि दिनेश राईको संयोकत्वमा सात सदस्यीय ‘अग्निपीडित राहत संकलन समिति’ गठन गरिएको जनाइएको छ ।

स्थानीय मगम राईको घरबाट शुरु भएको आगोले रु पाँच करोड ११ लाख १५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हलेसी बजारमा होटल व्यवसाय गर्दै आएका मगम राईको घरबाट सल्किएको आगोले १३ घरमा क्षति पुग्दा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।

महादेव गुफाको दक्षिणी क्षेत्रमा मंगलबार साँझ ७ बजेदेखि शुरु भएको आगोले मगम राईको दुईवटा घर जल्दा रु ८० लाख, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर जल्दा रु एक÷एक करोड, जगदिश दासको होलसेल पसल जल्दा रु एक करोड क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार आगलागीमा आंशिकरुपमा घर क्षति भएका प्रकाशचन्द्र गिरीको रु १५ लाख, रेगिन्द्र राईको रु एक लाख, गोविन्द राईको रु पाँच लाख, सरनसरी राईको रु पाँच लाख, सरनकुमार राईको रु एक लाख ५० हजार, महानन्द राईको रु एक लाख, कृष्ण राईको रु दुई लाख ५० हजार र कम्पराज राईको रु १५ हजार क्षति भएको थियो ।