खेलकुद

पदक विजेता सम्मानित

काठमाडौं । जापानको सुजोवकामा भएको तेश्रो सिजुओका अन्तर्राष्ट्रिय फ्रेन्डसिप सिन क्योकुसिन कराते खुला प्रतियोगिताका पदक विजेता खेलाडीलाई नेपाल सिन क्योकुसिन कराते संघले बिहीबार सम्मान गरेको छ ।
गत अक्टोबर २७ देखि २८ तारिखमा भएको प्रतियोगिताको १५ वर्षमुनि डिसान तामाङले रजत जितेका थिए । त्यस्तै पुरुष ७० केजीमाथि रामहरि आले मगर उत्कृष्ट खेलाडी चुनिएको संघका महासचिव एवं नेपालका लागि ब्रान्च चिफ सूर्यबहादुर बुढाथोकीले जनाएका छन् ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सम्मान पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टिम प्रशिक्षक कुमार श्रेष्ठ पनि सम्मानित भए ।