अन्तर्राष्ट्रिय

आइएमएफबाट नयाँ जमानत लिने सोच छैनः पाकिस्तान

इश्लामावाद, पाकिस्तान । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट नयाँ जमानत नलिने बिहीबार जनाएको छ ।
पाकिस्तानी अर्थ राज्यमन्त्री मुहम्मद अफजल खानले कराँचीमा आज भएको पत्रकार सम्मेलनमा सरकारले अब आइएमएफबाट कुनै नयाँ आर्थिक सहयोग लिने विषयमा नसोचेको बताएका हुन् ।
अफजलले भने, “ विभिन्न स्थानीय तथा वित्तीय संघसंस्थाले पछिल्लो समय सकारात्मक नतिजा प्रस्तुत गरेका छन् । यो मुलुकको आर्थिक प्रगतिको प्रष्ट सङ्केत हो । सम्भवतः अब हामीले आइएमएफबाट जमानत लिनु नपर्ला ।”
सरकारले आर्थिक सङ्कटको सामना गरिरहेको भन्ने भनाईलाई खण्डन गर्दै मन्त्री अफलले आफ्नो मुलुकको विकास खर्चको व्यवस्था गर्न पाकिस्तानसँग प्रशस्त आर्थिक स्रोत तथा साधन रहेको साथै पछिल्लो समय अन्तर्राष्ट्रिय तथा स्थानीय कर्जा असुल गर्दै आएको प्रष्ट पारे ।
उनले पाकिस्तानसँग प्रशस्त वैदेशिक मुद्राको भण्डार रहेको बताउँदै यसले कर्जा दायित्व व्यवस्थापनमा समस्या नरहने उल्लेख गरे । “पाकिस्तानसँग अहिले १९ अर्ब ७० लाख अमेरिकी डलरको विदेशी मुद्राको भण्डार छ,” उनले भने ।
मन्त्री अफजलले निकट भविष्यमा पाकिस्तानी संसदीय निर्वाचन हुन लागेको समयमा मुलुकको आर्थिक अवस्थाको नालीबेली बताउदै अव पाकिस्तानले जमानत लिनु पर्ने अवस्था नरहेको बताएका छन् । उनले थपे, “वर्तमान् सरकारले राष्ट्रलाई स्वस्थ आर्थिक अवस्थामा छोड्न छ महिने रणनीति बनाउन लागेको छ ।”

उनले आर्थिक बर्ष २०१७/०१८ का पहिलो पाँच महिनामा अनावश्यक वस्तुको आयातमा कडाई तथा नियन्त्रण गरिएको र निर्यातलाई १७ प्रतिशतले बढाइएको दावी गरे । पछिल्लो आर्थिक सुधारको प्रकृति हेर्दा यस आर्थिक बर्षमा आर्थिक घाटादरमा निकै कमी आउने देखिएको उनले बताए ।