अन्तर्राष्ट्रिय

यसरी दिईयो इरानमा बलात्कारीलाई मृत्युदण्ड

तेहरान । इरानमा एक सात बर्षीया बालिकालाई बलात्कार गरेर हत्या गरेको अभियोगमा एकजना युवालाई मृत्युदण्ड दिइएको छ ।

अफगानिस्तानकी ती बालिकालाई उक्त युवकले अपहरण गरेर लगी बलात्कार गरेर हत्या गरेको थियो । सो घटनाको समाचार सार्वजनिक भएपछि इरानमा राष्ट्रिय रुपमा नै शोक छाएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अमिर होसिन् पिलाई बिहीबार झुण्ड्याएर मारिएको छ । उसको मृत्युदण्डलाई स्थानीय सञ्चारमाध्यमहरुले बडो राम्रो कामका भएको भनी प्रचार प्रसार गरेका छन् ।

सन् २०१६ को अप्रिल महिनामा अफगान बालिका सत्यस गोर्सेईलाई सो १७ वर्षको सो युवकले अपहरण गरेको थियो । सो अपहरणपछि उनको खोजी भयो र पछि उनलाई मृत अवस्थामा भेटिएको थियो ।

ती बालिकाका परिवारले उनका हत्यारालाई मृत्युदण्डको सजाय माग गरेका थिए । अदालतले पनि बालिकाको हत्यारा सोही व्यक्ति भएको प्रमाणित भएपछि उसलाई मृत्युदण्डको सजाय दिने फैसला गरेको थियो ।

उनलाई बिहीबार बिहान मृत्युदण्ड दिइएको समाचार उक्त अदालतले सार्वजनिक गरेको छ । इरानमा हत्या, बलात्कार, लागूऔषधका कारोबारीलाई मृत्युदण्डको सजाय दिने कानुनी व्यवस्था छ ।

इरानमा १८ वर्षभन्दा कमका नागरिकलाई मृत्युदण्डको सजाय दिन नपाइने कानुनी प्रावधान छ । त्यसैले सो व्यक्तिले ती बालिकालाई बलात्कार र हत्या गरेको प्रमाणित पहिले नै भएको भए पनि १८ वर्ष नपुग्दासम्म यो सजायँ दिइएको थिएन ।