पर्यटन/संस्कृति

मझुवा कालिका विकास समितिको महोत्सवमा एक लाख पर्यटक उपस्थित हुने

खोटाङ । मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिले दिक्तेलमा ‘ धार्मिक तथा पर्यटकीय महोत्सव, २०७४’ भव्यताका साथ सम्पन्न गर्ने भएको छ ।

उक्त महोत्सव चैत्र १५ गतेदेखि २३ गतेसम्म विभिन्न कार्यक्रमका साथ सम्पन्न गरिने र उक्त महोत्सवबाट उठेको सहयोग रकमले स्थानीय कालिका भगवती मन्दीर परिसरमा धर्मशाला निर्माण गरी सहयोग गर्ने सहयोग दाताको पहिचानका लागि शिलापत्रमा नाम लेखी राखिने आयोजकको मूल लक्ष्य रहेको छ ।

उक्त स्थानमा श्रीमद भागवत पुराण महापुराण लगाउने, बुधेश्वर महादेवमा लघु रुद्री, कालिका भगवती स्थानमा चण्डी पाठ, पितृ उद्धारका लागि श्राद्ध तर्पन, दैनिक हवन, सामूहिक ब्रतबन्ध गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

त्यस्तै विभिन्न जात जातीले मानिआएको आ–आफ्नो धर्म संस्कृतिको प्रदर्शन गर्ने, कविता लेखन महोत्सव, धार्मिक तथा साँस्कृतिकलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिने समितिका अध्यक्ष पदम प्रसाद आचार्यले बताए । उत्पादित वस्तुहरुको स्टलसमेत राखिनेछ । उक्त महान कार्यमा राष्ट्रका वरिष्ठ व्यक्तित्वलगायत लाखौं भक्तजनको उपस्थित रहने आयोजकले विश्वास लिएको छ ।

साथै आयोजकले उक्त कार्यक्रममा खोटाङ जिल्लामा बसोबास गरेका र पुख्र्यौली थलो भई विश्वभरी बसोबास गर्दै आएका उद्योगी व्यापारी, बुद्धिजिबी, समाजसेवी, राजनीतिज्ञ, कर्मचारी, पत्रकार, डाक्टर, इन्जिनियर, कलाकारलगायतलाई उक्त कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ ।