प्रवास

गैरआवासीय नेपाली संघ फुजेराले शुक्रबार जनचेतनामूलक कार्यक्रम गर्ने

यूएर्इ । गैरआवासीय नेपाली संघ (एनआरएन)यूएई अन्तरगत क्षेत्रीय समन्वय परिषद् फुजेराले जनचेतनामूलक रमाइलो वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर आगामी जनवरी ५ तारिख शुक्रबार फुजेराको रमणीय माधवपार्कमा आयोजना बृहत् वनभोज जनचेतनामूलक हुने एनआरएनए फुजेरा क्षेत्रीय अध्यक्ष वीरेन्द्र खड्काले जानकारी दिएका छन् ।

यहाँका स्थानीय नियम, कानुन, ट्राफिक, कर जस्ता सर्वसाधारण नेपालीहरुका चासोका विषयमा एनआरएनए एनसीसी यूएईका विज्ञ पदाधिकारीहरुले वनभोजमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

वनभोजमा स्थानीय स्तरमै पाइने खसीको छालासहितको मासुका अतिरिक्त स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था आयोजकले गरेका छन् ।

बृहत् वनभोज तथा जनचेतनामूलक कार्यक्रममा एनआरएन राष्ट्रिय समन्वय परिषद यूएईको बिशेष सहयोगमा सम्पन्न हुन् गैरहेको उक्त कार्यक्रममा एनआरएनका मध्यपुर्ब उपसंयोजक गोपाल कंडेल, सल्लाहकार निमेष गिरि र दीपक खड्काका साथमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुबाट जनचेतना सम्बन्धी बिशेष सम्बोधन तथा जनचेतनाको लागि उपयोगी जानकारी मुलक प्रशिक्षण कार्यक्रम रहने बताइएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईले फेब्रुवरी महिनालाई जनचेतनामुलक महिना घोषणा गर्दै बिभिन्न कार्यक्रम संचालन गर्ने तयारी गर्दै गर्दा फुजेरामा भने एक महिना अघि नै बनभोज कार्यक्रमलाई उपयोग गर्दै सोही कार्यक्रममा जनचेतनामुलक कार्यक्रम गर्ने एनआरएनले लक्ष्य लिएको छ ।

कार्यक्रमको सफलताका लागि फुजेरामा क्रियाशील सामाजिक संस्थाहरु स्याङ्जा सहयोग समाज, पाल्पालि समाज, झापाली समाज, अर्घाखाँची सम्पर्क मञ्च, प्रवासी नेपाली मञ्च, जनसम्पर्क समिति, नेपाल मगर संघका प्रतिनिधिसङ्ग सहकार्य गरिरहेको छ ।

उक्त जनचेतनामूलक वनभोज कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाइ दिनु हुन फुजेरावासी तथा यूएईमा रहेका सबै नेपालीहरुलाई एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले अनुरोध गरेका छन् ।