पु.समाचार

जलवायु परिवर्तनसम्बन्धी गोष्ठी

इटहरी । जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले जलवायु परिवर्तनका कारण नेपाल पनि जोखिमपूर्ण बन्दै गइरहेकाले यसबाट बच्न सरकारी र गैरसरकारीसँगै स्थानीय तहले सचेत भएर काम गर्नुपर्नेमा जोड दिएकी छन् ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालयले प्रदेश १ को इटहरीमा आयोेजना गरेको जलवायु परिवर्तन व्यवस्थापनसम्बन्धी आज यहाँ आयोजित दुईदिने गोष्ठी उद्घाटनका अवसरमा उनले सो कुरा बताएकी हुन् ।

मन्त्री चौधरीले मानव जीवन नै समस्यामा पार्ने स्थिति आउन नदिन सरकारले जलवायु परिवर्तनको क्षेत्रमा संवेदनशील भएर काम गरिरहेकाले प्रदेश र स्थानीय तहले पनि यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

उक्त मन्त्रालयका सचिव प्रकाश माथेमाले वातावरण र जलवायु परिवर्तनमा आएको अति जोखिमपूर्ण अवस्थाले मावन सभ्यतामा नै प्रतिकूल प्रभाव परिरहेकाले सुन्दर भविष्य निर्माणका लागि अहिलेदेखि सचेत बनेर अघि बढ्न जरुरी रहेको बताए ।

मन्त्रालयका सहसचिव डा रामप्रसाद लम्साल, उपसचिव अरविन्द शर्मा, संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रमका उपनिर्देशक विजय सिंह र इटहरी उपमहानगरपालिकाको उपप्रमुख लक्ष्मी गौतम लगायतले जलवायु परिवर्तन तथा त्यसले मावन जीवनमा परेको अवसरका विविधि विषयमा चर्चा गरेका थिए ।

गोष्ठीमा झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लाका स्थानीय तहका पदाधिकारी वातावरणका क्षेत्रमा काम गर्दै आएका स्थानीय संघसंस्था, गैरसरकारी संस्थाका पदाधिकारीको सहभागिता छ ।