पर्यटन/संस्कृति

नाट्टाको नेतृत्वका लागि उम्मेदवारी घोषणा

काठमाण्डौ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्ट)ंको ५१औँ साधारणसभा नजिकिएसँगै पर्यटन व्यवसायीले नेतृत्वका लागि आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

यही पुस २८ गते हुने अधिवेशनमा नाट्टालाई व्यवसायीको साझा संस्थाका रुपमा स्थापित गर्ने उद्देश्यले आफ्ना उम्मेदवारी घोषणा गरेका हुन् ।

नाट्टाका प्रथम उपाध्यक्ष सिएन पाण्डेले आज यहाँ पत्रकार भेटघाट गरी संस्थाको सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको र सर्वसम्मत भएमा आफू अध्यक्ष हुने बताए ।

वाम गठबन्धननिकट पाण्डेले राजनीतिक आस्थाभन्दा माथि उठेर नाट्टामा आफूले व्यावसायिक नेतृत्व गर्न चाहेको बताउँदै सोही अनुरुप विविध विचार आस्था सम्बद्ध सबै पक्षले आफूलाई साथ हुने बताए । उनले आफू नेतृत्वमा नभए पनि नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रवद्र्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

लोकतान्त्रिक समूह निकट पर्यटन व्यवसायी अच्युत शर्मा गुरागाईंले पनि अध्यक्षमा उम्मेदवारी दिने बताए । उनले स्वतन्त्र व्यवसायीका तर्फबाट आफूले उम्मेदवारी दिन लागेको बताए । उनी कार्यसमिति सदस्य हुँदै महासचिव भइसकेका छन् ।

गुरागाईंले संघीय संरचनाअनुसार पर्यटनको ऐनकानून परिमार्जन गरी मुलुकमा पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि कार्य गर्ने बताए । उनले टुर्स र ट्राभल्स क्षेत्रमा रहेको समस्यालाई समाधान गर्नका लागि आफूले सबै सरोकारवालालाई समेटेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् भने साधारणसभामा ४६७ मतदाताले भाग लिनेछन् ।