राजनीति

चुनावमा पराजय भोगेको नयाँ शक्तिले पत्ता लगायो खास कारण

पोखरा । नयाँ शक्ति पार्टी नेपालले पार्टीको नीतिलाई जनमानसमा प्रभावकारी रुपले पुर्‍याउन नसक्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय व्यहोर्नुपरेको निश्कर्ष निकालेको छ ।

कास्कीको ल्वाङमा बसेको पार्टीको महाधिवेशन आयोजक समितिको बैठकले चुनावमा अन्य राजनीतिक दलसँगको ध्रुवीकरण, गठबन्धन र तालमेलका कारण उत्पन्न भ्रमले गर्दा पनि पार्टीले पराजय व्यहोरेको निश्कर्ष निकालेको हो ।

‘निर्वाचनमा नयाँ शक्ति पार्टीले अपेक्षाकृत जनमत प्राप्त गर्न नसक्नुको मुख्य कारण पार्टीले तर्जुमा गरेको नीतिलाई जनमानसमा प्रभावकारी रुपले पुर्‍याई त्यसप्रति आकर्षित गराउन नसक्नु तथा देश र जनताका लागि सकारात्मक उपलब्धी प्राप्त गर्ने उद्देश्य खातिर विभिन्न शक्तिसँग ध्रुवीकरण, गठबन्धन र तालमेल आदिमा अनेक प्रकारले लाग्नु र त्यसबाट पछि उत्पन्न भ्रमलाई चिर्न नसक्नु हो भन्ने बैठकले ठहर गरेको छ’, नयाँशक्ति पार्टीको निर्णयमा भनिएको छ ।

गत मंसिरमा भएको चुनावमा नयाँ शक्ति पार्टीले प्रतिनिधिसभामा १ सिट र प्रदेशसभामा ३ सिटमा जित हासिल गरेको छ । नयाँ शक्ति पार्टीले निर्वाचनमार्फत जनताले राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि मत दिएको ठहर गरेको छ ।

उसले निर्वाचनपछि राजनीतिक वृत्तमा देखिएका घटनाक्रमले जनचाहना र जनादेशको पालना एवं सम्मान गर्न नसक्ने स्पष्ट संकेत देखाइसकेको बोध भएको पनि उल्लेख गरेको छ ।

‘यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली एवं पूर्ण समानुपातिक संसद् नै सर्वोत्तम विकल्प हो भन्ने पार्टीको माग अरु सान्दर्भिक तथा औचित्यपूर्ण भएको बैठकले ठहर गर्दै यसलाई जोडदार रुपमा उठाउने निर्णय गरेको छ’, नयाँ शक्तिको निर्णयमा भनिएको छ ।

नयाँ शक्ति पार्टी नेपालले मधेसी, थारु, आदिवासी जनजाति, दलितलगायत विविध समुदायको असन्तुष्टी संबोधन गर्न संविधान संशोधन गर्न पनि माग गरेको छ । नयाँ शक्ति पार्टी, नेपालको पहिलो महाधिवेशन आयोजक समितिको बैठक पुस १८ देखि २० गतेसम्म कास्कीको माछापुच्छ्रे गाउँपालिका, ल्वाङ होमस्टेमा बसेको थियो ।