राजनीति

कांग्रेससँगको सहकार्य सकिएको छैन, नयाँ सरकारलाई खबरदारी गर्छुः डा. भट्टराई

पोखरा । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अब बन्ने नयाँ सरकारले गर्ने गलत कामहरुको खबरदारी गर्ने बताएका छन् ।

मंगलबार सुरु भएको पार्टीको प्रथम महाधिवेशन समिति बैठक समापनपछि कास्कीको माछापुच्छ्रे ल्वाङ गाउँमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक भट्टराईले नयाँ शक्तिले उठाएको आर्थिक विकास र समृद्धिको एजेण्डालाई अगाडि बढाउने र नयाँ सरकारले गर्ने गलत कामहरुलाई खवरदारी गर्ने बताएका हुन् ।

उनले भने, ‘नयाँ शक्ति पार्टी नेपालकै सांसद हुँ, स्वतन्त्र सांसद होइन । नयाँ शक्ति पार्टीले जुन वैकल्पिक राजनीतिको पाँच स अवधारणा अघि सारेको छ । त्यसलार्इ संसदको फोरमबाट म जबरजस्त उठाउँछु । त्यसका साथै सरकारले गर्ने गलत कामको खबरदारी गर्छु ।’

उनले कांग्रेसलगायतका दलहरुसँगको सहकार्य नसकिएको पनि बताए । ‘विभिन्न दलहरुसँग हाम्रो मुद्दामा सहकार्य हुन्छ,’ संयोजक भट्टराईले अगाडि भने, ‘कांग्रेससँगको सहकार्य सकियो भन्ने होइन । सरकार जसको बन्छ, त्यसलाई हामीले सकारात्मक र आलोचनात्मक ढंगले विरोध गर्छौं । परिस्थितिअनुसार हामी सबै पार्टीसँग सहकार्य गर्छौं । तर, हामी अलगै धार र पहिचानसहितको नयाँ शक्ति बनाउन लाग्छौं ।’

संयोजक भट्टराईले अहिलेका राजनीतिक शक्तिहरुले मुलुकमा गुणात्मक परिवर्तन नल्याउने जिकिरसमेत गरे । ‘अहिलेको राजनीतिले कुनै नयाँ गुणात्मक परिवर्तन ल्याउँदैन । नेपालका राजनीतिक शक्तिहरुलार्इ एक्लै–एक्लै आफ्नो अस्तित्व कायम राख्न अप्ठयारो थियो । त्यसैले गठबन्धन बनाएर चुनावमा गर्इ बहुमत हासिल गरेर सत्तामा जाने रणनीति बनाएका हुन् । यसबाट पुरानै दुष्चक्र दोहोरिने भन्दा अरु केही हुँदैन’, भट्टराईले भने ।