पु.समाचार

मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै वाम गठबन्धनका विद्यार्थी संगठनद्वारा निगमको कार्यालय घेराउ

काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आन्दोलनमा उत्रिएका वाम गठबन्धनमा आबद्ध युवा, विद्यार्थी संगठनहरूले बिहिबार नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

वाम गठबन्धनमा आबद्ध युवा, विद्यार्थी संगठनले बिहिबार बिहान ११ बजे पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंको बबरमहलस्थित निगम कार्यालय घेराउ गरेका हुन् । त्यस क्रममा उनीहरूले पूर्व सहमति अनुसार विद्यार्थीहरूलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउन जोडदार माग गर्दै निगम व्यवस्थापन समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् ।

हचुवाको भरमा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज गर्न निगम व्यवस्थापनको गम्भीर ध्यानाकर्षण गराइएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।

वाम गठबन्धनमा आबद्ध युवा, विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नलिएसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् । उनीहरूले निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक गरी नयाँ सरकार गठन प्रक्रिया सहज बनाउन पनि सरकारलाई सडकमार्फत् दबाब दिइरहेका छन् ।