खेलकुद

हेक्टर बेलरिनको गोलले आर्सनललाई हारबाट जोगायो

एजेन्सी । हेक्टर बेलरिनले इन्जुरी टाइममा गरेको गोलको मदतमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग बराबरी खेलेको छ ।

बुधबार राति भएको खेलमा चेल्सी र आर्सनलले २–२ को बराबरी खेलेका हुन् । खेलमा दुबै टोलीले गरेर गोलका लागि ३३ अवसर सृजना गरेका थिए तर, पिटर चेक र थिबाउटछ कोर्टोइसले उत्कृष्ट बचाउ गरे ।

आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा घरेलु टोलीले अग्रता लियो । उसका लागि ६३ औं मिनेटमा ज्याक विल्सहेयरले गोल गरेका थिए ।

तर यो धेरैबेर टिक्न सकेन । ६७ मिनेटमा चेल्सीले पाएको पेनाल्टीमा इडन हजार्डले सहजै गोल गरे । ८४ औं मिनेटमा एलोन्सोले गोल गरे । तर इन्जुरी टाइममा बेलरिनले गोल गरेपछि आर्सनल हारबाट जोगियो ।

खेल सकिन दुई सेकेण्ड मात्र बाँकी छँदा अर्को नाटकीय मोड देखियो, जब चेल्सीका डेभिड जापाकोस्टाको प्रहार क्रसबारमा लाग्न पुग्यो ।

बराबरीपछि चेल्सी २२ खेलबाट ४६ अंकका साथ तेस्रो स्थानमा छ भने आर्सनलको ३९ अंक छ र छैटौं स्थानमा छ ।