राजनीति

बालुवाटार बैठकः प्रधानमन्त्रीले यस्तो प्रस्ताव राखेपछि एमाले नेता बिच्किए !

काठमाण्डौ । नेकपा एमालेले सरकारले राष्ट्रियसभा निर्वाचनको मिति नतोकेकोमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आपत्ति जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एमालेले नयाँ सरकार गठनमा बिलम्ब सिर्जना गर्न सरकारले जानी–जानी राष्ट्रियसभा निर्वाचनको मिति नतोकेको आरोप लगाएको हो ।

एमाले नेताहरुले राष्ट्रियसभा निर्वाचन माघ २५ मा गर्ने भन्ने हल्ला सत्य हो भने त्यो ठीक नहुने बताए । राष्ट्रियसभा निर्वाचन १०–१५ दिनभित्र गर्न सकिने दाबी एमाले नेताहरुको थियो ।

प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग छलफल गरेर तत्कालै मिति तोक्ने भन्दै यसमा बिलम्ब नगर्ने जवाफ दिएका थिए । तर, एमाले नेताहरुले भने सरकारका गतिबिधि सत्ता लम्ब्याउनेतर्फ केन्द्रित भएको भन्दै आपत्ति जनाएका थिए ।

बैठकमा सहभागी एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘सरकारले राष्ट्रियसभा निर्वाचनको मिति नतोकेकामा हामीले आपत्ति जनायौं । नयाँ सरकार गठनको प्रक्रिया बिलम्ब हुने गरी सरकारका गतिबिधि भइरहेकोमा हामीले गम्भीर आपत्ति व्यक्त गरेका छौं ।’

बैठकमा एमाले नेताहरुले कामचलाउ सरकारले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेभन्दा पनि नियुक्ति सरुवा बढुवा र राज्यकोषबाट करोडौं रुपैयासत्ताधारीलाई बाँड्ने काम गरेको आरोप लगाएका थिए । देउवाले आफूले त्यसो नगरेको जवाफ दिएपछि आफूहरुले खानेपानी संस्थानको जिएम र पछिल्ला राजनीतिक नियुक्तिबारे प्रश्न उठाएको नेता अग्नि खरेलले बताए ।

त्यस्तै प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका छन् । तर, वाम गठबन्धनका नेताहरुले भने राजनीतिक सहमति दिन अस्वीकार गरेका छन् ।

बैठकमा उनले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशहरुको अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका थिए ।

दलहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् बैठक राखेर प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी मुकाम तोक्ने तयारी थियो । तर, एमाले नेताहरुले राजनीतिक सहमति खोज्ने प्रस्तावमा छलफल नै गर्न चाहेनन् ।

उनीहरु प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने काम सरकारको भएको भन्दै पन्छिएका छन् । बैठकमा सहभागी नेता अग्नि खरेलले भने, ‘प्रधानमन्त्रीले प्रदेश केन्द्र र प्रदेश प्रमुख नियुक्तिमा सहमति गरौं भन्नुभयो । हामीले प्रदेश केन्द्र कहाँ बनाउने भन्ने रिपोर्ट हामीलाई दिइएको छैन, यो काम सरकारको हो सरकारले गरोस् भन्यौं ।’

त्यस्तै काँग्रेस नेता कृष्ण सिटौलाले ‘एमाले आफैंले सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने भनेकाले राजनीतिक सहमति गर्नु परेको हो,’ भनेका थिए । केही दिनअघि आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले देउवा सरकारले प्रदेश प्रमुख नियुक्त गरे सपथ नै नलिने बताएका थिए । आजको बैठकमा खास सहमति नभएको नेताहरुले बताएका छन् । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएनन् ।