राजनीति

लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्नेछुः महामन्त्री कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रको रक्षाका लागि आफू जीवनभर लड्ने बताएका छन् ।

लोकतान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र मुलुकको विकासका लागि आफू जीवनभर संघर्ष गर्ने बताएका हुन् । “मैले मेरो जिम्मेवारी वहन गर्दा लोकतान्त्रिक विचार समाजसँग सल्लाह लिएर अगाडि बढ्नेछु,”– उनले भने ।

महामन्त्री कोइरालाले विपी कोइरालाले लिएको विचारलाई अंगिकार गरी मुलुकको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । युवालाई स्वदेशमै रोजगार सिर्जना गरेर देश विकासमा लैजानुपर्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री रामचन्द्र अधिकारीले प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीले कमजोर नतिजा ल्याएको भन्दै पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिनुपर्ने बताए ।

समाजका अध्यक्ष प्रा डा जयराज आचार्यले विपी कोइरालाले लिएको नीतिलाई पच्छाउन नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताए । “काँग्रेसको नीति, आदर्श र इतिहासलाई आम जनतासमक्ष लैजान समाज स्थापना गरेका हौँ,”– उनले भने ।

भर्खरै स्थापना भएको समाजलाई विस्तारै प्रदेश, जिल्ला हुँदै गाउँसम्म लैजाने समाजका कोषाध्यक्ष रेशम गुरुङले बताए । सो अवसरमा नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका महामन्त्री डा कोइरालालाई सम्मान गरिएको थियो ।