कृषि

व्यावसायिक मत्स्यपालन अवसर र चुनौती विषयक कार्यशाला

जनकपुरधाम । ‘व्यावसायिक मत्स्यपालन अवसर र चुनौती’ विषयक दुईदिने कार्यशाला आज यहाँ शुरु भयो ।

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान र मत्स्य विकास तथा तालिम केन्द्रद्वारा आयोजित सो कार्यशालामा २ नं प्रदेशका अगुवा मत्स्य व्यवसायी र विज्ञहरूको सहभागिता छ ।

कार्यशालामा नेपालमा व्यावसायिक मत्स्यपालनको अवस्था, आहारको व्यवस्थापन, स्वदेशी जातका मत्स्यपालन व्यवसायका चुनौती, मत्स्य ह्याचरी व्यवस्थापन तथा भूरा उत्पादन बारेमा छलफल हुनेछ ।

सो अवसरमा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा जीवराज पोखरेलले माछामा हुने गरेको रोगको अध्ययन–अनुसन्धानका लागि जनकपुरधाममा स्तरीय प्रयोगशाला स्थापना गर्ने गृहकार्य भइरहेको जानकारी दिए ।

प्रदेशसभा सदस्य रामअशीष यादवले विषादीको रोकथाम गर्दे जंगली माछाको संरक्षणको आवश्यकतामाथि जोड दिए ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरको माछाका नाममा भारतको आन्ध्र प्रदेशको माछा बिक्री भइरहेको प्रति ध्यानाकर्षण गराए ।

प्राध्यापक डा भोगेन्द्र झाले प्रदेश नं २ मा माछापालन व्यवसायलाई निरन्तरता दिइएमा आत्मनिर्भरको आर्थिक आधार हुन सक्ने धारणा व्यक्त गरे ।

प्राध्यापक डा जीवन श्रेष्ठले नेपालमा माछाको खपत प्रतिव्यक्ति तीन किलो मात्र रहेकाले यसको उत्पादन र खपतको माग वृद्धिको पहल गर्नुपर्ने बताए ।