राजनीति

पार्टी सभापति चलाउन लायक भइसकें: शेखर कोइराला

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफू पार्टीको नेतृत्व चलाउन लायक भइसकेको बताएका छन् ।

चुनावमा नेपाली काँग्रेसको पराजय, संघीय संरचनामा पार्टीलाई लग्नुपर्ने तयारी र नयाँ नेतृत्वको लागि केन्द्रीय समितिको बैठक त्यसपछि महाधिवेशनको टुंगो लाग्ने बताउँदै बुधबार विराटनगरस्थित कोइराला निवासमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने,‘ म नेतृत्व लिन लायक भइसकेको छु । पदीय जिम्मेवारी लिएर अब अघि बढ्न तयार छु ।’

कोइरालाले आफू पार्टीको सभापतिको तयारी स्वरुप अब हुने जिल्ला अधिवेशन तथा पार्टीका कार्यकर्ताको मनोभाव बुझ्न देश दौडाहामा निस्कने पनि बताए । उनले भने, ‘मुलुक संघीयतामा गई सकेपनि नेपाली काँग्रेसको संगठन संघीयतामा नगएकोले अब त्यसतर्फ जान पनि सम्पूर्ण काम गर्न बाँकी छ ।’

कोइरालाले जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्नका लागि म्यान्डेड दिएकोले सरकार बनाउने वा त्यसमा जाने भन्ने सोच्न नमिल्ने बताउँदै सरकार वाम गठबन्धनले नै बनाउनुपर्ने बताए। उनले भने,‘एउटै घोषणा पत्र लिएर चुनावमा जनतामाझ गएका एमाले र माओवादीले सोही अनुरुप जित हाँसिल गरेका हुन। उनीहरुले नै सरकार गठन गर्नुपर्छ ।’काँग्रेसले वाम गठबन्धन तोड्ने वा फुट ल्याउन प्रयास गर्न नहुने पनि कोइरालाको भनाई थियो ।

अहिलेको सतही अवस्था हेर्दा एमाले र माओवादी मिलेर एउटै कम्युनिष्ट पार्टी बन्ने सम्भावना कम रहेपनि सरकार भने बन्न सक्ने कोइरालाको तर्क थियो । काँग्रेसले अब बन्ने सरकारको गुणदोषका आधारमा आफ्नो भूमिका खेल्ने बताउँदै कोइरालाले भने,‘अधिनायकवादतर्फ लम्कने प्रयास र सोच भयो भने हामी सडक तथा सदन दुबैतर्फबाट दबाब दिन्छौं ।’ उनले माओवादी गठबन्धनबाट छुटेर आउला र सरकार बनाउला भन्ने सोच काँग्रेसले राख्न नहुने बता ए।

आफू हारेको क्षेत्रमा विजयी भएका एमालेका उम्मेदवार लालबाबु पण्डितलाई बधाई दिन चार पटकसम्म फोन गरेपनि उताबाट भने फोन नउठेको उनले बताए ।

उनले भने, ‘लालबाबु जीलाई बधाई दिन चार पटकसम्म टेलिफोन गरें तर उहाँले उठाउनु भएन ।’