अन्तर्राष्ट्रिय

प्योङयाङको हिउँदे ओलम्पिकबारे मागपछि दक्षिण कोरियाद्वारा वार्ता प्रस्ताव

सोल, दक्षिण कोरिया । दक्षिण कोरियाले हिउँदे ओलिम्पिक्मा उत्तर कोरियाको सम्भावित सहभागिताबारे जनवरी ९ मा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ ।

उत्तर कोरियाका नेता किम जङ–अनले एउटा टोली हिउँदे ओलिम्पिकमा सहभागी हुन फेब्रवरीमा दक्षिण कोरियाको प्युङ्चाङ पठाउनेबारे विचार गर्दै गरेको बताएपछि यो प्रस्ताव आएको हो ।

किमले दुवै पक्षले तत्कालै भेटेर उत्तर कोरियाको सहभागिताबारे छलफल गर्नुपर्ने बताएका छन्।

केही अगाडि दक्षिण कोरियाका राष्ट्रपतिले दुई देशबीचको तनावपूर्ण सम्बन्ध सुधार गर्न यो अवसर हुनसक्ने आफूलाई लागेको बताएका थिए ।

दक्षिण कोरियाका एकता मामिला हेर्ने मन्त्री जो म्युङ्–ग्युनले मङ्गलवार दुई देशका प्रतिनिधिहरूले ‘युद्धविराम गाउँ’ भनिएको पाम्मुन्जुममा भेट गर्न सक्ने प्रस्ताव अगाडि सारेका हुन् ।

उच्च सुरक्षा दिइएको तर असैनिक क्षेत्र (डीएम्जेड्) मा पर्ने उक्त सीमावर्ती गाउँमा दुवै देशले ऐतिहासिक रूपमै वार्ताहरू गर्दै आएका छन् ।

“उत्तर र दक्षिण कोरिया आमुन्नेसामुन्ने बस्छन् र उत्तर कोरियाली प्रतिनिधि मण्डलको ’प्युङ्चाङ खेलमा’मा सहभागिता लगायत दुई देशको सम्बन्ध सुधार गर्न आपसी चासोका विषयहरूमा छलफल गर्छन् भन्ने हाम्रो आशा छ,“ चोले भने ।