पु.समाचार

सिन्धुपाल्चोकमा आवास निर्माणमा तीव्रता

चौतारा । भूकम्प गएको अढाइ वर्षपछि सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीव्रता आएको छ ।

सरकारले पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको कारण लाभग्राहीले पुनःनिर्माणमा सक्रियता देखाउन थालेका हुन् ।

भूकम्प गएको एक वर्षपछि २०७३ साल वैशाख १२ गते ११ बजे र ५६ मिनेटको समयमा तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौतारास्थित सर्वे तामांङको घरको शिलान्यास गरी आवास निर्माणको शुभारम्भ गरेका थिए ।

तर लाभग्राहीले आवास निर्माणमा खासै चासो दिएका थिएनन् । अझै पनि बैंकमा जग्गा धितो राखेर ऋण नपाएका गरिबीका रेखामुनि रहेका कतिपय लाभग्राहीले भने आर्थिक अभावका कारण आवास निर्माण गर्न नसकी टहरामै बस्न बाध्य भएका छन् ।

गएको दशैँयता धेरैजसोले आवास निर्माण शुरु गरेका छन् । तर यसैबेला व्यापारीले मौका छोपेर सिमेन्ट र फलामे डण्डीको आकासिने गरी मूल्यवृद्धि गर्नुका साथै कृत्रिम अभावसमेत सिर्जना गरेका छन् ।

केही समय पहिले रु ७५० मा पाइने ओपिसी सिमेन्टको मूल्य हाल रु एक हजारभन्दा माथि पुगेको छ भने फलामे डण्डीमा पनि व्यापक मूल्यवृद्धि भएको छ । यसरी मूल्यवृद्धि हुँदा पनि सरकार मौन बसेकामा लाभग्राही आक्रोशित भएका छन् ।

बढी मूल्य तिर्दा पनि समयमा सामान नपाउँदा काम नै रोक्नु परेको भन्दै कतिपय लाभग्राहीले गुनासो गरेका छन् । यसका साथै ढुवानी भाडामा पनि व्यापक वृद्धि भएको छ । खोलामा गिट्टी र बालुवाको समेत अभाव भएको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सिन्धुपाल्चोकका अनुुसार ३६ हजार २७५ जना अर्थात ४६।१८ प्रतिशतले आवास निर्माण कार्य शुरु गरेका छन् । जिल्लामा शुरुमा ७८ हजार ५३७ लाभग्राही अर्थात ९६.४८ प्रतिशतले पहिलो किस्ताको सम्झौता गरिसकेका छन् । पाँच हजार १२६ जनाले गुनासोमा नाम दर्ता गरेपछि हाल लाभग्राहीको संख्या ८३ हजार ६६३ पुगेको छ ।

त्यसमध्ये ७५ हजार ६५२ अर्थात ९६।१८ प्रतिशतले पहिलो किस्ता लगेका छन् भने २५ हजार ५१७ अर्थात ३२।४९ प्रतिशतलाई दोस्रो किस्ताको लागि सिफारिश गरिएको छ ।

त्यस्तै, चार हजार ८०३ जनालाइ तेस्रो किस्ताको सिफारिश गरिएकाले अझै दुई तिहाइले घर बनाउन बाँकी भएको सो कार्यालयका निमित्त प्रमुख टंक गौतमले जानकारी दिए ।