आर्थिक

तीस करोडको कारोवार गर्दै राष्ट्रिय औद्योगिक प्रदर्शनी सम्पन्न

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालित १४ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ मा रु ३० करोडको कारोवार भएको छ ।

करिब छ लाख २५ हजार दर्शकले अवलोकन गरेको प्रर्दशनीमा लक्ष्य भन्दा रु १० करोड बढी कारोबार भएको जनाइएको छ ।

प्रदर्शनीको कृषि र प्रविधिका स्टलहरूमा दर्शकले चासोपूर्वक अवलोकन गर्नुका साथै स्वरोजगार बन्नेतर्फ चासो राखेको आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले बताए ।

यही पुस ६ गतेदेखि शुरु भएको प्रर्दशनीको आज समापन गर्दै प्रदेशसभा सदस्य लीला गिरीले प्रर्दशनीले यस क्षेत्रको औद्योगिक विकासमा टेवा पुगेको बताए । उनले औद्योगिक प्रदर्शनी स्वदेशी उद्योगको विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रदर्शनीको ज्याक्वर प्रदर्शनी आइडल–२०७४ ९सिजन ५० प्रतियोगिताको उपाधि सुशील आचार्यले प्राप्त गरेका छन् । उनले उत्कृष्ट तीन प्रतिस्पर्धी निरज थापा र आकाश झालाई पछाडि पार्दै प्रदर्शनी आइडल सिजन फाइभको उपाधि कब्जा गर्न सफल भएको आयोजक समितिले जनाएको छ ।

उपाधि विजेता सुशील आचार्यले नगद पुरस्कार रु एक लाख ११ हजार १११ सहित विभिन्न पुरस्कार प्राप्त गरे । आइडलको दोस्रो उपाधि निरज थापाले प्राप्त गरे । उनले रु ५५ हजार ५५५ नगद पुरस्कार प्राप्त गरे भने आकाश झाले रु ३३ हजार ३३३ नगद पुरस्कारसहित तेस्रो उपाधि प्राप्त गरे ।

यसैगरी ज्याक्वर प्रदर्शनी आइडल–२०७४ (सिजन ५) को अन्तिम कार्यक्रममा नेपालका चर्चित कलाकार र अभिनेता सुनिल थापाको प्रस्तुति रहेको थियो । कार्यक्रममा प्रदर्शनी मूल आयोजक समितिका संयोजक एवं रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, ज्याक्वर इण्डष्ट्रिजका प्रवन्ध निर्देशक महेश थैव, प्रदर्शनी आइडलका संयोजक तिलक नेपालीलगायतले आयोजनाको ऐतिहासिक पृष्ठभूमि र महत्वबारेमा धारणा राखेका थिए ।

प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनी, प्रवर्धन तथा बजारीकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन एवं सूचना केन्द्र, विभिन्न लोक सांस्कृतिक प्रदर्शन, दोहोरी गीत, आरसिआई ट्यालेण्ट हन्ट प्रतियोगिता, प्रथम आरसिआई कप भलिबल प्रतियोगिता, लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल, औद्योगिक सूचना केन्द्र, आकर्षक रेष्टुरेन्ट र कृषि ग्राम सञ्चालन भएका थिए ।