खेलकुद

राष्ट्रिय महिला फुटबलः नेपाल प्रहरी र मध्यमाञ्चल विजयी

काठमाडौँ । नेपाल प्रहरी र मध्यमाञ्चलले १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत आज भएका खेलमा जित हात पारेको छ ।

नेपाल प्रहरीले समूह ‘ए’ मा सुदूरपश्चिमलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै जित हासिल गरेको हो । शुरुमा एक गोलले पछि परेका नेपाल प्रहरीले खेलको दोस्रो हाफमा दुई गोल फर्काउँदै लगातार दोस्रो जित हासिल गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको १६ औँ मिनेटमा चन्द्र भण्डारीले गोल गर्दै सुदूरपश्चिमलाई अग्रता दिलाएकी थिइन् । शुन्य विरुद्ध एकको अग्रतालाई सुदूरपश्चिमले कायम राख्न सकेन । नेपाल प्रहरीका लागि ५७ औँ मिनेटमा निरु थापाले बराबरी गोल गरिन् । त्यसको ८ मिनेटपछि ६५ औ मिनटेमा निर्मला उपाध्यायले गोल गर्दै प्रहरीलाई जित दिलाइन् ।

यसैगरी समूह ‘ए’ कै अर्को खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई शुन्य विरुद्ध चार गोलले पराजित गर्दै पहिलो जित हात पारेको छ । मध्यमाञ्चलका लागि रस्मी कुमारी घिसिङले दुई तथा कप्तान मेनुका नगरकोटी र सविता राना मगरले एक÷एक गोल गरिन् ।

रस्मीले खेलको छैटौँ र ८१ औँ मिनेटमा गोल गरिने भने मेनकाले ३२ औं र राना मगरले ६१ औँ मिनेटमा गोल गरेका थिए ।

भोलिको पहिलो खेल नेपाल आर्मी र मध्यपश्चिमाञ्चल तथा दोस्रो खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र मध्यमाञ्चलबीच हुनेछ ।