पु.समाचार

पदभन्दा पार्टी एकीकरण महत्वपूर्णः नेता पोखरेल

भक्तपुर । नेकपा एमाले नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले अध्यक्ष पदभन्दा पार्टी एकीकरण महत्वपूर्ण भएको बताएका छन् ।

मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पोखरेलले वर्तमान अवस्थामा जनादेशलाई पालना गर्दै पार्टी एकीकरण महत्वपूर्ण रहेको भन्दै पार्टी एकीकरणपछि अध्यक्ष तोक्ने विषयमा दुवै पार्टीका अध्यक्ष तयार भएको बताए ।

देउवा नेतृत्वको सरकारले जाँदाजाँदै गरेका विभिन्न खालका नियुक्ति सरुवा बढुवा गलत भएको भन्दै जनादेशको पालना गरि तत्कालै सरकार छाडी नयाँ सरकारका लागि सहज वातावरण श्रृजना गर्नु पर्नेमा उनले जोड दिए ।

उनले कानूनविदहरूले चर्चा गरे जस्तो नयाँ सरकार गठनमा राष्ट्रियसभाको निर्वाचनले कुनै अवरोध नगर्ने बताउँदै विभिन्न बहानबाजी गरेर वर्तमान सरकाले आफ्नो सत्ताको आयू लम्बाउनु गलत भएको बताए ।

अबको सरकारको लागि सबैभन्दा ठूलो चुनौती भनेको देशको आर्थिक समृद्धि भएको भन्दै उनले सरकारले स्पष्ट खाकासहित कार्यान्वयनतर्फ जान नसके त्यसले नेपालीमा ठूलो निराशा पैदा गर्ने र यसले वाम गठबन्धनलाई समेत घात पुर्‍याउने बताए ।