आर्थिक

अब बैंकमा निक्षेपको व्याजदर नबढ्ने, यस्तो भयो सहमति

काठमाण्डौ । अब बैंकमा निक्षेपको व्याजदर नबढ्ने भएको छ । बैंकरहरुको निक्षेपको व्याजदर नबढाउने सहमति गरेका छन् । नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले तत्काल निक्षेपको व्याजदर नबढाउने सहमति गरेको हो ।

बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकहरुले धमाधम व्याजदर बढाएर निक्षेप तान्न थालेका छन् । तरलता अभाव भएको भन्दै बैंकहरु राष्ट्र बैंक र अर्थमन्त्रालय गुहार्न समेत पुगेका थिए । बैंकर्स संघका पदाधिकारीहरुले राष्ट्र बैंकका गभर्नर, अर्थसचिव लगायतलाई भेटेर विभिन्न सरकारी निकाय तथा संस्थानहरुलाई निक्षेपमा १२ प्रतिशतभन्दा बढी व्याज नमाग्न निर्देशन दिन आग्रह समेत गरेका थिए ।

तरलता अभावको समस्या समाधानका लागि राष्ट्र बैंक पनि लागीपरेको छ । आइतबार राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरेर पाँच अर्ब रुपैयाँ बजारमा पठाएको छ । त्यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एक बर्षे मुद्दती खातामा दुई अर्ब ३१ करोड जम्मा गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबारसम्म बैंकिङ प्रणालीमा ३१ अर्ब रुपैयाँ तरलता छ ।