पु.समाचार

पूर्व राष्ट्रपति रामवरण यादवको घरभाडा बढ्यो, कति पुग्याे ?

काठमाण्डौ । पूर्व राष्ट्रपति डा. रामवरण यादवको घरभाडा बढेको छ । मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

ललितपुरको बागडोलस्थित रविभक्त विष्टको घरमा बस्दै आएका यादवलाई घरघनीले भाडा बढाएको बताएका थिए । विष्टले घरभाडा नतिरेको भन्दै यादवलाई घर खालि गरिदिन पत्राचार गरेका थिए । विष्टले १० प्रतिशत भाडा बढाएको घोषणा गरेका थिए ।

यसअघि १ लाख ४५ हजार भाडा तिर्दै आएका यादवलाई पछिल्लोपटक बसेको मन्त्रिपरिषद्को बैठकले १० प्रतिशत बढाएर १ लाख ५९ हजार पुर्याइदिएको छ ।

सरकारले यादवलाई ५० हजार मासिक भत्ता, स्वकीय सचिव, उपसचिवसहितको सचिवालय, दुईवटा गाडीको सुविधा दिँदै आएको छ । उक्त सुविधासहित पूर्वराष्ट्रपतिलाई बिजुली, खानेपानी, ईन्धन, सञ्चारको सुविधा दिँदै आएको छ ।  घर खाली गर्न घरधनीले १५ दिने सार्वजनिक सूचना जारी गरेका थिए ।

राष्ट्रपति कार्यालय शीतलनिवासले विसं २०७२ कात्तिक १२ गतेदेखि ललितपुर महानगरपालिका–४ स्थित वागडोलमा रहेको रविभक्त बिष्टको घर डा यादवका लागि भाडामा लिएको थियो। गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमार्फत घर र बत्तीको भाडा भुक्तानी गर्दै आएको थियो । यस पटक विसं २०७४ साउन १ गतेदेखि घर बहाल सम्झौता नवीकरण नगरी भाडा पनि नतिरेको भनी घरधनी बिष्टले कार्तिक २० गतेको गोरखापत्र दैनिकमा अहिलेसम्मको बाँकी बहाल तिरी घर खाली गर्न १५ दिने सूचना प्रकाशन गरेका थिए ।

पटक पटक पूर्वराष्ट्रपति र राष्ट्रपति कार्यालयलाई बहाल तिर्ने व्यवस्था गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएकाले घर खाली गर्न सार्वजनिक सूचना जारी गर्न बाध्य भएको बताएका थिए । पन्ध्र दिनभित्र घर खाली नगरे कानूनबमोजिम हुने सूचनामा उल्लेख थियो ।

मन्त्रिपरिषद् बैठकले अबदेखि पूर्वराष्ट्रपतिको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिने निर्णयसमेत गरेको छ । यसअघि राष्ट्रपति कार्यालय आफैँले पूर्वराष्ट्रपतिको घरभाडा, भत्ता तथा अन्य सबै सुविधाको व्यवस्थापन गर्दै आएको थियो ।